कर्णालीका ३५ प्रतिशत महिला अझै घरमै सुत्केरी हुन बाध्य

मातृ तथा प्रसवकालीन मृत्युदर पनि चिन्ताजनक
फाल्गुन १८, २०८२ |सरिता चलाउने
कर्णालीका ३५ प्रतिशत महिला अझै घरमै सुत्केरी हुन बाध्य

सल्यान । कर्णाली प्रदेश, जहाँ अझै पनि नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउँदैनन् । 

शिक्षा अधुरै छोड्नुपर्ने बाध्यता छ । महिला तथा दलितमाथिको हिंसा रोकिएको छैन । भौगोलिक विकटतासँगै जनचेतनाको अभाव कर्णाली प्रदेशको प्रधान सत्रु बनिरहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका अनुसार पछिल्लो पाँच वर्षमा कर्णालीमा महिला तथा बालबालिका हिंसासम्बन्धी ५ हजार ३ सय ८३ घटना दर्ता भएका छन् ।

यता गरिबी र सामाजिक कारणले १ हजार ३ सय २८ जना बालबालिकाले बीचमै पढाइ छाडेका छन्, जसमध्ये ९ सय १० बालिका हुन् । यो तथ्यांकले कर्णालीमा महिला र बालिकाको दुरावस्था देखाउँछ । भौगोलिक विकटतासँगै जनचेतनाको अभावमा कर्णालीमा महिला र बालिका धेरै प्रताडित छन् । 

विशेषगरी दलित महिला गरिबी र सामाजिक संरचनाका कारण बढिजसो विभेदमा पर्ने गरेका छन् । कर्णालीमा बहुआयामिक गरिबी दर ५८.७ प्रतिशत छ । गाउँ-गाउँमा बर्थिङ सेन्टर खुले पनि कर्णालीका गर्भवतीहरू बाटोमै सुत्केरी हुने घटना देखिँदै आएका छन् । 

प्रदेशका ३५ प्रतिशत महिला अझै घरमै सुत्केरी हुन बाध्य छन् । जटिल बिरामी र सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था पटक पटक हुने गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मातृ तथा प्रसवकालीन मृत्युदर पनि चिन्ताजनक छ ।

केही ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुगे तापनि लाज र डरले महिलाहरू खुल्न सक्ने अवस्था नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्य, सुरक्षा, शिक्षा र सम्मान, कर्णालीका महिला, दलित र बालबालिकाका प्रमुख माग यिनै हुन् । हरेक निर्वाचनमा यी माग पूरा गर्ने प्रतिबद्धता दोहोरिँदै आएको छ । तर, यसले यहाँका महिला, बालबालिका र दलित समुदायको दैनिकीमा उल्लेख्य परिवर्तन भने ल्याएको छैन ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।