
सुर्खेत । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनका लागि सुर्खेतमा ५१ प्रकारका मतदान सामग्री बोकेर कर्मचारीहरू कार्यक्षेत्र लागेका छन् ।
सोमबार प्रदेश निर्वाचन कार्यालयबाट ती सामग्रीहरू बोकेर उनीहरू आ-आफ्नो कार्यक्षेत्र लाग्न सुरू गरेका हुन् । निर्वाचन गराउन खटिएका टोलीले ५१ प्रकारका सामग्रीहरू बोकेका छन् । मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, रङ, डोरी, स्टेप्लर, लाहा, सिल गर्ने डोरीलगायतका ५१ प्रकारका सामग्रीहरू लिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले आइतबार मतदान अधिकृतको टोलीले सबै सामानहरू रूजु गरेको र सोमबार बिहानदेखि ती सामग्रीहरू बुझेर कार्यक्षेत्र खटिन सुरू भएको जानकारी दिनुभयो । सोमबार साँझसम्म सबै कर्मचारीले सामानहरू बुझेर कार्यक्षेत्र पुगिसक्ने उहाँले बताउनुभयो ।
यसैगरी कर्णालीका दुर्गम हिमाली क्षेत्रमा भने हेलिकप्टरबाट मतदान सामग्री र कर्मचारीहरू सोमबार साँझसम्म पुगिसक्ने छन् । प्रदेश निर्वाचन अधिकारी गुरूङकाअनुसार हुम्लाका आठ मतदान केन्द्र, डोल्पाका २० मतदान केन्द्र र मुगुका तीन मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारीहरूलाई हेलिकप्टरबाट पठाइनेछ ।
उहाँले सोमबार बिहानसम्मको निर्वाचनको तयारी करिब-करिब अन्तिम चरणमा पुगिसकेको बताउनुभयो । कर्मचारीहरू मतदान केन्द्रमा पुगेपछि मतदानको तयारीका लागि आवश्यक पर्ने काम, सर्वदलीय बैठकलगायतका कामहरू गर्नेछन् । कर्णालीमा ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन्भने मतदाता १० लाख ३७ हजार २५० जना छन् । कर्णालीमा १२ निर्वाचन क्षेत्र रहेको छ।