.png&w=1000&height=550)
सल्यान । प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ।
एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा दुई स्वतन्त्रसहित १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उम्मेदवारका एजेन्डा सार्वजनिक भइरहेका बेला सल्यानका मतदाताका अपेक्षा भने फरक-फरक देखिन्छ।
अघिल्ला निर्वाचनमा पुरानै अनुहार दोहोरिने क्रम देखिए पनि यसपटक अधिकांश नयाँ उम्मेदवार चुनावी मैदानमा होमिएका छन । "उम्मेदवारहरूले कृषि, पशुपालन, रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सुधार, राजमार्ग तथा ग्रामीण सडक स्तरोन्नतिलगायतका विषयलाई आफ्नो एजेन्डामा समेटेका छन। तर मतदाताका अपेक्षा त्यति ठूला छैनन।"
खानेपानी, विद्युत् गाउँसम्म विस्तार, सहज यातायात, स्वास्थ्य सेवा सुधारजस्ता आधारभूत विषयमा काम गरिदिन मतदाताले उम्मेदवारहरूलाई आग्रह गरेका छन् । नागरिकको जनजीविकासँग जोडिएका विषय नै यसपटकको मुख्य अपेक्षा बनेका छन् ।
यता, सहर क्षेत्रका मतदाताको अपेक्षा भने अझ स्पष्ट देखिन्छ-गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षामा जोड, जिल्ला अस्पतालको स्तरोन्नति र बाटोघाटो सुधार, मतदाताले आधारभूत आवश्यकता सम्बोधन गर्ने प्रतिनिधि खोजिरहेका छन् । अब यी अपेक्षालाई नीति र कार्यक्रममार्फत कसरी कार्यान्वयन गरिन्छ, त्यसले नै मत परिणाम तय गर्ने देखिन्छ ।