देउवा बिनाको डडेल्धुरा : ३४ वर्षपछि पहिलो पटक नयाँ राजनीतिक प्रतिस्पर्धा

फाल्गुन १७, २०८२ |वरुण पनेरू
देउवा बिनाको डडेल्धुरा : ३४ वर्षपछि पहिलो पटक नयाँ राजनीतिक प्रतिस्पर्धा

डडेल्धुरा । २०४८ सालपछि पहिलो पटक डडेल्धुरामा शेरबहादुर देउवा बिनाको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । 

२०४८ साल पछि लगातार सातवटा निर्वाचन जित्नुभएका देउवा यसपटक चुनावी मैदानबाट बाहिर रहँदा अन्य दलका उम्मेदवार थप उत्साहित भएका छन् । विगतमा कांग्रेसको गढ मानिएको डडेल्धुरामा यसपटक तीन स्वतन्त्रसहित १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

२०२८ मा कांग्रेस भ्रातृ संगठन नेविसंघको सर्वसम्मत सभापति निर्वाचित हुनुभएका देउवाको राजनीतिले त्यसपछिका वर्षमा निरन्तर अग्र गति लियो। २०४८ मा गृहमन्त्री भएपछि उहाँ निरन्तर सत्ताका सदाबहार खेलाडीका रूपमा चिनिनु भयो । उहाँ पाँच पटक प्रधानमन्त्री र सात पटक सांसद हुनुभयो । 

२०४८ सालको निर्वाचनमा देउवा नेतृत्वमा सुदूरपश्चिमका १९ सिटमध्ये १८ मा कांग्रेसले जितेको थियो। देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा डडेल्धुराबाटै विजयी हासिल गर्नुभएको हो । ३४ वर्ष कांग्रेस र सत्ताको केन्द्रमा रहेका देउवाले सक्रिय राजनीतिबाट विश्राम लिने संकेत गरेपछि सुदूरपश्चिमका कांग्रेस नेताहरू एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर र नैनसिंह महरबीच 'देउवाको उत्तराधिकारी' बन्ने रस्साकसी छ भने अरू पार्टीबाट देउवापछि नेकपाका भीम रावल की एमाले सचिव लेखराज भट्ट भन्ने चर्चा पनि छ । 

यही २१ गते हुने निर्वाचनले सुदूरपश्चिमको सामरिक महत्व राख्ने नेता को बन्न सक्छ भन्ने देखाउँछ । सात पटक निरन्तर निर्वाचन जितेका देउवाको सभापति पद गुमेसँगै निष्क्रिय रहँदा उहाँका उत्तराधिकारी नैनसिंह महर चुनावी मैदानमा हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट उदाएका महर देउवाको बलियो उत्ताराधिकरीमा प्रस्तुत हुनुभएको छ भने देउवा बिनाको यो निर्वाचन रोचक हुने देखिएको छ । 

डडेल्धुरामा ३४ वर्षपछि कांग्रेसले नयाँ उम्मेदवार मैदानमा ल्याएका छ भने रास्वपाका तारा जोशीबाहेक १३ जना नयाँ अनुहार छन् । पहिलो पटक चुनावी मैदानमा होमिएका महरलाई चुनौती दिन एमालेका चक्र स्नेही, नेकपाका मानसिंह माल र रास्वपाका ताराप्रसाद जोशी प्रतिस्पर्धामा छन् । 

यसैगरी कांगेसको गढ भत्काउने दाउमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिंह माल आफ्ना रणनीतिसहित घरदैलोमा हुनुहुन्छ । उता सुदूरपश्चिम प्रदेश सभा सदस्य छोडेर निर्वाचनमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशी पुराना दलप्रति जनताको विश्वास घटेका कारण रास्वपाको जनताको जनविश्वस धेरै बढेको दाबी गर्नुहुन्छ ।

जेन-जी आन्दोलन पछिको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।