खुल्ला सीमा र दलगत द्वन्द्वबीच कोशीमा निर्वाचन सुरक्षा चुनौती, कडाइका साथ तयारी तीव्र

फाल्गुन १७, २०८२ |महाप्रसाद खतिवडा|सुशीला पाठक
खुल्ला सीमा र दलगत द्वन्द्वबीच कोशीमा निर्वाचन सुरक्षा चुनौती, कडाइका साथ तयारी तीव्र

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि नेपाल भारत खुल्ला सीमा तथा पुराना दल र नयाँ दलबीचको द्वन्द्व मूख्य सुरक्षा चुनौती रहेका छन् । 

निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने अधिकारीहरूको भनाइ छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशका १४ जिल्लामा तयारी तिव्र पारिएको छ भने दलहरूको चुनावी गतिविधि पनि बढेको छ । 

जेन-जी आन्दोलनको राप र ताममा हुन लागेको निर्वाचनमा, नेपाल र भारतबीच खुल्ला सीमा सुरक्षा चुनौतीका रूपमा रहेको छ । त्यसो त नयाँ र पुराना दलहरूबीचको द्वन्द्व, जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी बन्दी अझै फरार रहेको र लुटिएका हातहतियार फिर्ता नभएको, निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिले पनि कोशी प्रदेशमा सुरक्षा चुनौती थपिएको छ ।

कोशी प्रदेशमा ३५ लाख ८५ हजार तीन सय १० मतदाता छन् । २०७९ सालको भन्दा यो निर्वाचनमा एक लाख ८८ हजार आठ सय ६५ जना मतदाता थपिएका हुन् । निर्वाचन आयोगले कोशी प्रदेशका १४ जिल्लामा १ हजार नौ सय सात मतदान स्थल र ४ हजार दुई सय ७० वटा मतदान केन्द्रको व्यवस्था गरेको छ। 

जसमा १० वटा मतदान स्थल र एक सय ७१ वटा मतदान केन्द्र थपिएका हुन् । खुल्ला सीमा भएका कारण हातहतियार तथा विस्फोटक पदार्थको अनधिकृत ओसार पसार रोक्न, अनधिकृत मानिसहरूको आवत जावत रोकेर शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कोशी प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न नाका तथा संवेदनशील क्षेत्रमा कडाइ गरेका छन् ।

निस्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्नु राजनीतिक दल र नागरिक समाजको पनि दायित्व हो । तसर्थ शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सबै पक्ष संवेदनशील हुन आवश्यक छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।

Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।