
काठमाडौं । निर्वाचन नजिकिएसँगै रोजगारी तथा व्यापार व्यवसाय गरी विदेशमा रहेका नेपालीहरूमा स्वदेशमा हुन गइरहेको निर्वाचनप्रति चासो र चिन्ता धेरै छ ।
केही नेपाली मतदान गर्नेका लागि मातृभूमि आइसकेका छन् । केही आउने तरखरमा रहेका छन् । छुट्टी नमिलेर आउन नपाएकाहरूको मन ध्यान भने नेपालमै छ । जापानको राजधानी टोकियो नजिकै १७ वर्षदेखि होटल व्यवसाय गरिरहेका कपिलवस्तुका राजेन्द्र भण्डारीलाई निर्वाचनका बेला नेपाल आउने धेरै चाहना थियो । तर, व्यापार व्यवसायका कारण नेपाल आउन नपाए पनि भयरहित तवरले निर्वाचन होस् भन्ने उहाँको चाहना छ ।
निर्वाचनपछि नेतृत्व लिने दलबाट विकास होस् भन्ने चाहना रहेको उहाँ बताउनुहुन्छ । व्यापार व्यवसायसँगै जापानका विभिन्न स्थानमा काम गरिरहेका नेपाली युवाको पनि चाहना त्यस्तै छ । निर्वाचनका बेला घर आउन नपाएपनि मन भने नेपालमै छ ।
केही नेपाली युवा भने छुट्टी मिलाएर नेपाल आउने तयारीमा छन् भने मतदान गर्नैका लागि केही आइसकेका छन् । विमानस्थलमा भेटिएका युवाहरुले देशमा हुन लागेको निर्वाचनमा सक्रिय रुपमा सहभागी भएर मताधिकार प्रयोग गर्न घर फर्किन लागेको बताए ।
जापानस्थित नेपाली दूतावासका अनुसार अहिले २ लाख ७७ हजारभन्दा धेरै नेपाली जापानका विभिन्न सहरमा कानुनी हैसियत पाएर बसेका छन् । यस्तै अन्यसहित करिब ३ लाख नेपाली जापानमा रहेको अनुमान रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार श्रमिक र गैरआवासीय नेपाली गरी विदेशमा ४२ लाखभन्दा धेरै नेपाली रहेका छन् ।
देश विकास भएर वैदेशिक रोजगारीको परनिर्भरता कम होस् भन्ने जापानमा रहेका नेपालीको चाहना छ ।