धनुषा-३ : विमलेन्द्र निधि र जुली महतोलाई मनिष झाको टक्कर

फाल्गुन १६, २०८२ |अमरकान्त ठाकुर
धनुषा-३ : विमलेन्द्र निधि र जुली महतोलाई मनिष झाको टक्कर

धनुषा । प्रचारप्रसारका लागि निर्वाचन आयोगले दिएको समयसीमा उत्तरार्द्धतिर जाँदा धनुषा-३ का उम्मेदवारहरू जतिसम्म सकिन्छ मतदातामाझ पुग्ने प्रयास गरिरहेका छन् । 

मधेश प्रदेशको राजधानी जनकपुरधामसमेत समेटिएको यो क्षेत्रका तीन जना प्रत्यासी निवर्तमान प्रतिनिधि सभाका सदस्य हुन् । कांग्रेसका विमलेन्द्र निधि, एमालेकी जुलीकुमारी महतो र रास्वपाका मनिष झाको उम्मेदवारीले यो क्षेत्रलाई चर्चित बनाएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा ३ मा १६ जना दलिय र २९ जना स्वतन्त्रसहित ४५ जना उम्मेदवार छन् । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले)बाट विजयी हुनुभएकी जुलीकुमारी महतो यसपटक यसै क्षेत्रकी उम्मेदवार हुनुहुन्छ ।

नेपाली कांग्रेसका पूर्वउपसभापतिसमेत रहनुभएका विमलेन्द्र निधि धनुषा-३ मै फेरि प्रत्यक्षतर्फ निर्वाचन लड्न आउनुभएको छ । २०५३ सालदेखि यहाँबाट चुनाव लड्दै आएका निधि निवर्तमान प्रतिनिधि सभाका समानुपातिक सांसद हुनुहुन्छ । पाँच पटकको प्रतिस्पर्धामा ३ जित र २ हार ब्यहोरेका निधि कांग्रेस यसपटक रूपान्तरित भएर चुनावमा उत्रिएको दाबी गर्नुहुन्छ ।

संगठनात्मक हिसाबले कांग्रेस-एमाले यस क्षेत्रमा बलियो देखिए पनि रास्वपाले यहाँ समेत प्रभाव विस्तार गरेको देखिन्छ । कांग्रेस-एमालेजस्तो वडास्तरसम्म संगठन नभए पनि रास्वपाका मनिष झा मतदाताको आफ्नो पार्टीसँगको रूझानप्रति आत्मविश्वासी देखिनुहुन्छ ।

मधेश आन्दोलनकै जगबाट स्थापित भएको जनता समाजवादी पार्टी नेपालले पनि धनुषा-३ मा परमेश्वर साहलाई उम्मेदवार बनाएको छ । साह पनि पार्टी एकता भएपछि मजबुत रहेको दाबी गर्नुहुन्छ । धनुषा-३ मा जनकपुरधाम उपमहानगरपालिकाको १७ वटा-वडा, नगराइन नगरपालिका, धनौजी गाउँपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको सबै वडा तथा विदेह नगरपालिकाको एउटा वडा पर्छन् । यस क्षेत्रमा १ लाख २५ हजार ९ सय २७ जना मतदाता छन् ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।