
काठमाडौं । निर्वाचन पर्यवेक्षणसम्बन्धी संस्थाहरूले प्रतिनिधि सभाको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना अत्याधिक भएको निष्कर्ष निकालेका छन् ।
निर्वाचन आयोगले निर्वाचन तयारीमा प्रभावकारी कार्यसम्पादन गरेको भए पनि आचारसंहिता कार्यान्वयनमा चुकेको आरोप संस्थाहरूले लगाएका हुन् । यस निर्वाचनमा डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघनका घटना बढी भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोष्ट, गाली-गलौज, सार्वजनिक मर्यादा विपरीतका अभिव्यक्ति मिथ्या र भ्रामक सूचनाको प्रवाह बढेको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जिओक) र निर्वाचन पर्यवेक्षण समिति (इओक) नेपाललगायत संस्थाहरूले शनिबार पत्रकार सम्मेलन गरी राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, पत्रकार, कलाकार, सामाजिक अभियन्ता लगायतबाट भएको आचारसंहिता उलंघनका घटनामा आयोगले समयमै निगरानी र नियमन गर्न नसकेको दाबी गरेका हुन् ।
जिओकका महासचिव कृष्णमान प्रधानले पर्यवेक्षण संस्थाहरूलाई राजनीतिक दल र उम्मेदवारले आचासंहिताको सही रूपमा पालना गर्छन् भन्ने विश्वास अझै नरहेको बताउनु भयो । निर्वाचन आयोगप्रति पनि आम नागरिकको विश्वास पूर्णरूपमा हुन नसकेको जिकिर उहाँले गर्नुभयो ।
दल दर्ता, मुद्दा दर्ता र आचारसंहिता पालना गर्ने काममा आयोगले स्पष्टीकरण मात्रै सोधेर बस्ने नभइ करबाही हुन्छ भन्ने विश्वास अहिले मतदातालाई र आम नागरिकलाई दिनसक्नुपर्नेमा त्यसो हुन नसकेको उहाँले बताउनु भयो । आचारसंहिता उल्लंघन भए निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्दछ, जितिसकेपछि पनि परिणाम रद्द गर्छ भन्ने विश्वास दिलाउन नसकेको उहाँले बताउनु भयो । निर्वाचन पर्यवेक्षकलाई परिचय पत्र बनाउने काममा पनि आयोगले सहयोग नगरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले पर्यवेक्षकहरूलाई सहजै सबै ठाउँमा जानसक्ने व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । ती संस्थाले केही सञ्चारगृह र सञ्चारकर्मीहरूको भूमिका पनि शंकाको घेरामा रहेको बताएका छन् । पर्यवेक्षण गर्ने संस्थाहरूले निर्वाचनको निष्पक्षता र स्वच्छताका लागि निर्वाचन पूर्व र मतदानको समयमा आचारसंहिताको पुर्ण पालना हुनुपर्ने तर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।