बाराका मतदाता संसद्‍मा ताली बजाउनेभन्दा आफ्ना एजेन्डा राख्ने उम्मेदवारको खोजीमा

फाल्गुन १६, २०८२ |रमेश ठाकुर
बाराका मतदाता संसद्‍मा ताली बजाउनेभन्दा आफ्ना एजेन्डा राख्ने उम्मेदवारको खोजीमा

बारा । आसन्न निर्वाचनमा भाग लिएका उम्मेदवारहरू आफ्नो पक्षमा जनमत आकर्षित गर्न लागि परेका छन् । 

मतदानको मिति नजिकिँदै जाँदा निर्वाचनमा होमिएका उम्मेदवारहरू आफ्नो एजेन्डासहित जनताको घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । यही फागुन २१ गते हुने निर्वाचनमा बाराका चारवटै निर्वाचन क्षेत्रमा दलिय र स्वतन्त्र गरी ११० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

जसमध्ये मुख्य प्रतिस्पर्धा हुने अधिकांश उम्मेदवार यसअघिका निर्वाचन पनि भाग लिँदै आएका व्यक्ति हुन् । सबै उम्मेदवार अहिले मतदाता रिझाएर आफ्नो पक्षमा जनमत आकर्षित गर्न अन्तिम प्रयासमा छन् । मतदाता रिझाउन उम्मेदवारहरू अहिले प्रचारप्रसारमा व्यस्त छन् । 

यतिबेला बाराका चारवटै क्षेत्रका उम्मेदवार घरदैलो र चुनावी सभामा व्यस्त छन् । उम्मेदवारहरू ठोस एजेन्डाभन्दा पनि त्यही पुराना परम्परागत योजना नै आफ्ना एजेन्डाको रूपमा प्रयोग गरेर मतदाता फकाउन घर-घर पुगिरहेका छन् । मतदाता पनि यसपटक संसद्‌मा ताली बजाउनेभन्दा पनि स्थानीय मुद्दालाई केन्द्रमा जोडदार रूपमा उठान गर्न सक्ने प्रतिनिधिको पर्खाइमा छन् ।

४ लाख ६५ हजार ७ सय ४ जना मतदाता रहेको बारामा साक्षरता प्रतिशत पनि कम रहेको छ । त्यस्तै भौतिक पूर्वाधारको विकासमा पनि निक्कै पछि परेको छ । २०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर १ र ३ मा एमाले, क्षेत्र नम्बर २ मा जसपा नेपाल, र ४ नम्बर क्षेत्रमा तत्कालिन नेकपा समाजवादी पार्टीले जितेको थियो ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।