
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतगणना सुरू भएको २४ घन्टाभित्र मतपरिणाम आइसक्ने दाबी गर्नुभएको छ।
आफूले मतदानको २४ घन्टामा नभइ गणना सुरू भएको २४ घन्टामा नतिजा आइसक्ने बताएको स्पष्टीकरण दिँदै भण्डारीले यसका लागि आयोगले व्यवस्था गरेको बताउनुभएको हो।
कान्तिपुर टेलिभिजनसँगको विशेष कुराकानीमा भण्डारीले भन्नुभयो,'म स्पष्ट पार्न चाहन्छु, मतपेटिका प्राप्त भएर मतगणना सुरू भएको २४ घन्टामा नतिजा घोषणा गर्ने गरी हामीले तयारी गरेका छौं।' भण्डारीले २५ गतेअगावै देशैभरिका निर्वाचन क्षेत्रको मतपरिणाम घोषणा गर्ने गरी आयोगले मतगणनाको व्यवस्था गरेको पनि बताउनुभयो।
'यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले गणना पनि छिटो हुन्छ। साथै, छिटोभन्दा छिटो गणना सम्पन्न गर्नका लागि जनशक्तिको पनि व्यवस्थापन गरिएको छ।' भण्डारीले भन्नुभयो,'२५ गतेभन्दा पछाडि निर्वाचनमा के भयो हँ भनेर कसैले कुरेर बस्नुपर्ने अवस्था हुँदैन। तपाईँहरूले देशभरिको अन्तिम परिणाम प्रसारण गर्न पाउनुहुन्छ।'