फागुन २१ निर्वाचन : भारतसँग जोडिएका सीमानाका ७२ घन्टाअगावै बन्द गरिने

फाल्गुन १६, २०८२ |राजेश्वर पाण्डे
फागुन २१ निर्वाचन : भारतसँग जोडिएका सीमानाका ७२ घन्टाअगावै बन्द गरिने

रौतहट । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सम्पूर्ण सीमानाका ७२ घन्टाअगावै बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनाअनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका सबै नाका फागुन १८ गते सोमबार राति १० बजेदेखि बिहीबार राति १० बजेसम्म पूर्णरूपमा बन्द गरिने जनाइएको छ । 

निर्वाचन सम्पन्न भएकै मध्यराति १२ बजेदेखि पुनः नाकाहरू सुचारू गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै निर्वाचनको मर्यादा कायम राख्न निर्वाचनमा सात दिनअगावै देखि मतगणना अवधि सम्पन्न नभएसम्म जिल्लाभर मदिरा तथा मदिराजन्य पदार्थको बिक्री–वितरणमा समेत पूर्ण रोक लगाइएको छ ।

सीमाक्षेत्र संवेदनशील मानिने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएर नियमित रूपमा सीमा क्षेत्रमा चेकजाँच र गस्तीलाई बढावा दिइएको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।