
काभ्रे । काभ्रे जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार बन्नुभएका गणेशप्रसाद अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन भण्डारीलाई समर्थन गर्दै औपचारिक रूपमा रास्वपामा प्रवेश गर्नुभएकाे छ।
अधिकारीले आफ्नो उम्मेदवारी निस्क्रिय पार्ने निर्णय गर्दै परिवर्तनको पक्षमा राजनीतिक एकता सुदृढ गर्ने उद्देश्यले रास्वपामा आबद्ध भएको घोषणा गर्नुभयाे। दुवै पक्षबीच लिखित सहमति पत्रमा हस्ताक्षर भएपछि अधिकारीले आफ्नो राजनीतिक यात्रा पद, सत्ता वा सौदाबाजीका लागि नभइ पुस्तान्तरण, परिवर्तनमुखी राजनीति, युवाको आत्मसम्मान, अवसर र सुरक्षित भविष्यको खोजीका लागि भएको स्पष्ट पार्नुभयाे।
उहाँले परिवर्तनको पक्षमा मत विभाजन हुन नदिन र काभ्रे २ मा राजनीतिक स्थिरता तथा उत्तरदायी नेतृत्व स्थापित गर्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिँदै रास्वपाका उम्मेदवार बदन भण्डारीलाई समर्थन गरेको बताउनुभयाे। सहमति पत्रअनुसार जिल्लाको समग्र पूर्वाधार विकासलाई प्राथमिकता दिने, सडक सञ्जाल विस्तार, स्वास्थ्य, शिक्षा र रोजगारी क्षेत्रको सुदृढीकरण, स्वच्छ खानेपानीमा पहुँच सुनिश्चित गर्ने पहल, युवाका लागि रोजगारी सिर्जना, उद्यमशीलता विकासलाई प्रोत्साहन, स्थानीय स्तरमै अवसर सिर्जना, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन, पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना, कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको संरक्षण तथा कृषकको आयस्तर वृद्धि गर्ने साझा एजेन्डामा दुवै पक्षबीच सहमति भएको उल्लेख गरिएको छ।
सहमति पत्रमा आसन्न निर्वाचनपछि समृद्ध, पारदर्शी शासन प्रणाली स्थापना, दिगो विकास र जनमुखी नीति कार्यान्वयनका लागि निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता समेत उल्लेख गरिएको छ। यस सहकार्यले काभ्रे २ मा परिवर्तनको पक्षमा राजनीतिक एकता र सहकार्यको नयाँ सन्देश जाने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।
गणेश अधिकारीले युवाको भरोसा बोकेको नेतृत्वलाई विजयी गराउन आफू पूर्णरूपमा सक्रिय रहने जनाउँदै सम्पूर्ण मतदातालाई प्रत्यक्ष तथा समानुपातिक मतपत्रमा घण्टी चिन्हमा मतदान गरी रास्वपा तथा घण्टीवाहक उम्मेदवारलाई विजयी गराउन अपील गर्नुभयाे ।
यस घटनाक्रमलाई काभ्रे २ को चुनावी राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ, जसले चुनावी प्रतिस्पर्धालाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।