
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।
निर्वाचन आयोगको सिफारिसमा सरकारले शुक्रबारदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो । आयोगले प्रतिबन्धको कार्यान्वयन भए-नभएको बारेमा सुक्ष्म अनुगमन गर्ने पनि जनाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन १५ गतेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मको लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।
निर्वाचनको अवधिमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको हो । तोकिएको अवधिमा मदिरा बिक्री-वितरण वा सेवन गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।
आयोगले सम्पूर्ण मतदाता, व्यवसायी, राजनीतिक दल, उम्मेदवार तथा सुरक्षा निकायलाई निर्वाचन अवधिभर आचारसंहिताको पालना गरी सहयोग गर्न आग्रह गरेको छ । निर्वाचनसँग सम्बद्ध सबै पक्षले आ-आफ्नो जिम्मेवारी निर्वाह गरी मर्यादित र अनुशासित वातावरणमा मतदान सम्पन्न गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।