
काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै उहाँले निर्वाचनका लागि सकारात्मक वातावरण निर्माण गर्न आयोग मात्र नभइ सबै पक्षको सहयोग उत्तिकै आवश्यक रहेको बताउनुभएको हो । आयुक्त डा. तुलाधरले आयोगले संघ, प्रदेश र स्थानीय गरी तीन तहकै सरकारहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी समेत दिनुभयो ।
आयुक्त तुलाधरले निर्वाचनका प्रमुख साझेदारका रूपमा रहेका राजनीतिक दलहरूसँग पनि आयोगले निरन्तर छलफल गरिरहेको बताउनु भयो । देश निर्वाचनमय भइसकेको र फागुन २१ गतेको निर्वाचनलाई सम्पन्न गर्न सबै नेपालीहरू उत्सुक रहेकाले शान्तिपुर्ण वातावण निर्माणमा सबैले आ-आफ्ना स्थानबाट योगदान गर्ने विश्वास आयोगले लिएको उहाँले उल्लेख गर्नुभयो ।
आयुक्त डाक्टर तुलाधरले निर्वाचनको सफलताका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको औंल्याउँदै उहाँले संघ, प्रदेश र स्थानीय सरकारलगायत राजनीतिक दल र सम्पूर्ण सरोकारवालाहरूको समन्वय र सहकार्यले मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उल्लेख गर्नुभयो ।