निर्वाचन खर्च पारदर्शी बनाउन दल र उम्मेदवारको सक्रियता : ४० प्रतिशतले खोले बैंक खाता

फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन खर्च पारदर्शी बनाउन दल र उम्मेदवारको सक्रियता : ४० प्रतिशतले खोले बैंक खाता

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने राजनीतिक दल र उम्मेदवारहरूको सङ्ख्या ४० प्रतिशत पुगेको बताउनुभएको छ ।

सुरूआती चरणमा जम्मा ५ प्रतिशतले मात्र खाता खोलेकोमा हाल यो दर बढेर ४० प्रतिशतभन्दा माथि पुगेको उहाँले बताउनुभएको हो । प्रवक्ता भट्टराईले यसलाई सकारात्मक प्रवृत्तिका रूपमा लिँदै ‘गिलास आधा भरिएको छ’ भन्ने दृष्टिकोणबाट हेर्नुपर्ने बताउनु भयो । 

आयोगको नीतिलाई अनुसरण गर्दै खाता खोल्ने दल र उम्मेदवारहरूलाई उहाँले धन्यवाद समेत दिनुभयो । प्रदेश स्तरीय अन्तरक्रियाका क्रममा केही उम्मेदवारहरूले ‘बिना पैसा चुनाव लड्ने र खाता खोल्ने पैसा समेत नभएको’ गुनासो गरे पनि साँच्चै खर्च नगर्नेहरूको नियतमाथि आयोगले शङ्का नगर्ने स्पष्ट पारेको छ । 

यद्यपि, खाता नखोलिकन बाहिरबाट जथाभावी खर्च गरेको पाइएमा आयोगले कडा कदम चाल्ने चेतावनी दिएको छ । नियम उल्लङ्घन गर्नेहरूमाथि आयोगले गर्ने निर्णय गोप्य नराखिने र सार्वजनिक गरिने प्रतिबद्धता प्रवक्ता भट्टराईले व्यक्त गर्नुभयो । क्याम्पेन फाइनान्सिङलाई पारदर्शी बनाउने आयोगको अभियानले तिव्रता पाइरहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.