
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रस्तुत जाजरकोटमा गरिएको उक्त नाटकमा मतदाताले मतपत्रमा कसरी सुरक्षित र सहि तरिकाले छाप लगाउने, बदर मत हुन नदिन के-कस्ता सावधानी अपनाउने तथा मतदान प्रक्रियामा अपनाउनुपर्ने आचारसंहिताबारे सचेतना दिइएको थियो।
नाटकमा कलाकारहरूले मतदान केन्द्रमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियम, गोप्य मतदानको महत्व, मतपत्रमा एक मात्र चिन्हमा स्पष्ट छाप लगाउने तरिका र मतपत्र बिग्रिएमा सम्बन्धित कर्मचारीसँग कसरी सहयोग माग्ने भन्ने विषयलाई सरल र रोचक ढंगले प्रस्तुत गरेका थिए।
साथै, मत खरिद-बिक्रीजस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन तथा स्वतन्त्र र निष्पक्ष रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको थियो। कार्यक्रममा स्थानीय सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नाटकले मतदान प्रक्रियाबारे रहेको अन्योल हटाउन सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।
कला र नाटकमार्फत नागरिक सचेतना फैलाउने उद्देश्यले कर्णाली प्रदेशको सुर्खेत, जाजरकोट, सल्यान र पश्चिम रूकुममा नाटक मञ्चन गरिएको आयोजकले जानकारी दिएको छ। कचहरी नाटक शैलीमा दर्शकसँग प्रत्यक्ष संवाद गर्दै प्रस्तुत गरिएको “मतको महत्व” ले लोकतन्त्र सुदृढ बनाउन मतदाताको सक्रिय र सचेत सहभागिता अपरिहार्य रहेको सन्देश दिएको थियो।