
विराटनगर । मोरङको क्षेत्र नम्बर ४ अहिले चर्चामा छ ।
नेपाली कांग्रेसका महामन्त्री, पटक-पटक निर्वाचन जितेका व्यक्ति र नयाँ अनुहार निर्वाचनमा होमिएका कारण मोरङ क्षेत्र नं ४ को निर्वाचन रोचक बनेको हो । विगतमा गठबन्धन गरेर चुनाव लडेका ठूला दल यसपटक आफ्नै उम्मेदवार लिएर प्रतिस्पर्धामा होमिएका छन् ।
केही नयाँ अनुहारले पुरानालाई चुनौती दिएका छन् । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट माओवादीका अमनलाल मोदी ३० हजार ६ सय १२ मतसहित विजयी हुनुभएकाे थियाे ।
समानुपातिकतर्फ भने सबैभन्दा बढी १९ हजार ५ सय ५५ मत नेपाली कांग्रेसले पाएको थियो । एमालेले १८ हजार तीन सय ८६ मत पाउँदा माओवादी केन्द्रले नौ हजार ७ सय ६० मत ल्याएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार २ सय ७० मत ल्याएको थियो ।
यो क्षेत्रमा एक लाख १९ हजार २ सय ५५ मतदाता छन् भने यस पटक नौ हजार ७८ जना मतदाता थपिएका छन् । २०७९ र २०७४ को निर्वाचनमा दलहरूको गठबन्धनमै निर्वाचित मोदी यो पटक पनि जित आफ्नै पक्षमा आउनेमा ढुक्क छन् । हालै कांग्रेसका महामन्त्री बन्नुभएका गुरूराज घिमिरे पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छन् ।
२०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका घिमिरे विगतमा लोकप्रिय मत कांग्रेसको भएकाले जित सहज हुने ठान्छन् । एमालेबाट पूर्वप्रदेश मन्त्री जीवन घिमिरे चुनावी मैदानमा छन् । पार्टी संगठन र आफ्नो अनुभवले जित आफ्नो पक्षमा आउने घिमिरेको विश्वास छ ।
पुराना दलहरूले विकास, निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेका कारण जनता परीवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्क छ । १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको मोरङ क्षेत्र नम्बर ४ मा उम्मेदवारहरू आफ्नो चुनावी रणनीति बनाउन व्यस्त छन् ।