सोलुमा हिमपात, हिमाली भेगमा चिसो बढ्यो

फाल्गुन १२, २०८२ |भानुभक्त निरौला
सोलुमा हिमपात, हिमाली भेगमा चिसो बढ्यो

सोलुखुम्बु । हिउँद याम सकिनै लाग्दा सोलुखुम्बुमा पहिलो पटक हिमपात भएको छ । 

फागुनको दोस्राे साता सकिन लाग्दा यहाँ हिमपात सुरू भएको हो । मंगलबार दिउँसोबाट मौसममा बदली आएसँगै उच्च हिमाली क्षेत्रमा हिमपात सुरू भएको हो ।

माथिल्लो खुम्बु क्षेत्र र तल्लो सोलुको उच्च पहाडहरू हिउँले सेताम्मे भएका छन् । छिटपुट वर्षासँगै भएकाे हिमपातले चिसो भने एक्कासी बढाएकाे छ । हिमपातका कारण खुम्जुङ, नाम्चे, पिके र पत्ताले डाँडाहरूमा हिउँ जमेको छ । अपराह्नपछिको वर्षासँगै हिउँ परेपछि यो हिउँद यामको हिउँमा रमाउन पाएको पत्तालेका स्थानीय प्रकाश मगरले बताउनुभयाे । 

खुम्बु क्षेत्रका अधिकांश हिमपात भएको तर जनजीवन भने सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोजित कुँवरले बताउनुभयाे । त्यस्तै माथिल्लो क्षेत्रमा चिसो एक्कासी बढेको छ । नाम्चेमा दिउँसोबाट भने चिसो बढेको स्थानीय छिमिकाल्देन शेर्पाले बताउनुभयाे । हिमपात सुरू भए पनि अहिलेसम्म चुनावी गतिविधिलाई भने असर नगरेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेको भनाइ छ ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।