
धनकुटा । धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी बढ्न थालेका छन् ।
हालसम्म १० वटा मौखिक र दुईवटा लिखित उजुरी परेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय धनकुटामा आयोजित कार्यक्रममा लिखित उजुरीका आधारमा सम्बन्धित उम्मेदवार तथा दलसँग स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ।
नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई आठपहरियाविरूद्ध मतदातालाई प्रभावित पार्ने उद्देश्यले टोपी वितरण गरेको आरोपमा उजुरी परेको छ। उक्त उजुरी नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिले दिएका हुन् । त्यसैगरी, नेकपा (एमाले)ले आफ्ना उम्मेदवारविर"द्ध सामाजिक सञ्जालमा गलत सामग्री सार्वजनिक गरिएको भन्दै उजुरी दिएको थियो। सोही आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवार लाक्पा तामाङसँग लिखित स्पष्टीकरण मागेको जनाएको छ।