
तेह्रथुम । जाडो घट्दै गएर घामको ताप हल्का बढ्दै जाँदा बगैंचामा देखापर्ने पहिलो रंगीन फूल हो सिनेरारिया ।
यसको ठ्याक्कै नेपाली नाम छैन । योसँगै फुल्ने अर्को प्रजातीको फूल पनि छ प्रिमुला, अर्थात् वसन्ते फूल । बैजनी, गुलाबी, सेतो, निलो, पँहेलोलगायतका आकर्षक रङमा फूल्ने यी मनमोहक फूलले वसन्त ऋतु आगमनको सन्देश दिने गर्छन् । पूर्वी पहाडका तेह्रथुम, धनकुटा र संखुवासभाको चिसो हावापानी पाइने लेकाली बजार र आसपासका ग्रामीण बस्तीमा यतिबेला बहुरंगी फूल फुलिरहेका छन् ।
घरको बार्दली, कौशी र भर्याङमा समेत गमलामा सजाइएका यी फूलले पर्यटकलाई समेत आकर्षित गरिरहेको छ । अफ्रिकी महादेशको क्यानेरी टापु क्षेत्रमा सन् १७७७ मा पहिलो पटक ब्रिटेन रोयल बोटानिकल गार्डेनका वनस्पतिविद् कार्ल लिने सहितका वैज्ञानिकले वर्गीकरण गरेको यो फूल यतिबेला चिसो हावापानी पाइने तेह्रथुम, संखुवासभा र धनकुटाका उच्च क्षेत्रका बस्तीभर फुलिरहेका छन् ।
यी फूलले गाउँ बस्तीको सौन्दर्य त बढाएको छ नै, पर्यटक आकर्षित गरेर स्थानीयलाई रोजगारी र आम्दानीसँग समेत जोडेको छ । वसन्त ऋतुको आगमन नहुँदै चिसो हावापानी रहेका ग्रामीण बजारहरूमा फुल्न थालेका यी फूलले पहाडको सौन्दर्यमा थप चमक ल्याइदिएको छ ।
हल्का निलो, फिक्का पँहेलो, गुलाबी, रातो र बैजनी रंगमा फुल्ने यी फूलले पहाडका ग्रामीण बस्तीका घर र बजार क्षेत्रमा सुन्दरता बढाउँदै जैविक विविधताको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । स्थानीय कृषक र सामुदायिक पर्यटन व्यवसायीहरूले यसलाई पर्यटनसँग जोडेर व्यावसायिक अवसर पनि सिर्जना गरिरहेका छन् ।
सिनेरारिया र प्रिमुला प्रजातीका विदेशी फूललाई पहाडको सौन्दर्य मात्र नभई यहाँको आर्थिक र सांस्कृतिक पक्षसँग जोडेर लैजान सके स्थानीय पर्यटन व्यवसायमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना छ । पर्यटक र स्थानीय समुदायलाई आकर्षित गर्ने महत्वपूर्ण स्रोत पनि यी प्रजातीका फूल बनिरहेका छन् ।
फूलको सौन्दर्य हेर्न आउनेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ, जसले पर्यटन व्यवसायमा पनि सकारात्मक प्रभाव पारिरहेको छ । वसन्त ऋतुमा सबैभन्दा पहिले फुल्ने अर्को प्रजातीको फूल हो प्रिमुला अर्थात् वसन्ते फूल । युरोप र पश्चिमी एसियामा उत्पति भएको यो फूल बेलायत, जर्मनी र फ्रान्सलगायत देशको जंगली प्रजाति हो ।
१८औं शताब्दीमा युरोपेली उद्यानमा लोकप्रियता पाएको यो प्रजातीको फूल त्यसपछि अमेरिका र एसियामा फैलिएको थियो । विश्वव्यापी रूपमा सजावटी फूल भनेर चर्चा कमाएको यो फूल नेपालमा इस्वी सम्वत १९९० को दशकमा नर्सरीमार्फत भित्रिएको अनुमान छ । घर, होटल तथा होमस्टेको आँगन सजावट, प्रेमी प्रेमिकालाई उपहार, फोटोसुटलगायतका गतिविधि र सौन्दर्यका लागि यो फूलको प्रयोग र महत्व बढ्दै गएको छ ।