
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा रहेका विद्युतीय पुस्तकालय र अपाङ्गता विद्यार्थी सहायता केन्द्र प्रयोगविहीन बनेका छन् ।
व्यवस्थापकीय कमजोरी र जनशक्ति अभावले प्रविधिमूलक अध्ययन तथा समान शिक्षा प्राप्त गर्न पाउने सुविधाबाट विद्यार्थीहरू बञ्चित भएका छन् । सहायता केन्द्र भने अहिलेसम्म सञ्चालनमै आउन सकेको छैन । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी र प्राध्यापकलाई डिजिटल अध्ययन सामग्रीमा पहुँच, अनुसन्धान र असाइनमेन्टमा सहयोग तथा प्रविधि प्रयोगको सीप विकास गर्न धनकुटा बहुमुखी क्याम्पसमा १० वर्षअघि विद्युतीय पुस्तकालय स्थापना गरिएको थियो ।
पुस्तकालयमा २० वटा कम्प्युटरसहित इन्टरनेट र अन्य विद्युतीय उपकरण जडान गरिएको छ । अध्ययन अध्यापनमा ई-बुक, जर्नल, रिसर्च पेपर र अनलाइन डाटाबेसको प्रयोग बढाउन स्थापना गरिएको विद्युतीय पुस्तकालयबाट उद्देश्य अनुरूप विद्यार्थी र प्राध्यापकले लाभ पाउन सकेका छैनन् ।
दाताहरूको सहयोगमा शारिरिक अपाङ्गता र फरक क्षमता भएका विद्यार्थीलाई अध्ययनमा समान अवसर प्रदान गर्न, सहायक उपकरण, अपाङ्गमैत्री पूर्वाधार र शौचालयको सुविधासहित चार वर्षअघि स्थापना गरिएको विद्यार्थी सहायता कक्ष पनि सञ्चालनमा आउन सकेको छैन ।
फरक क्षमता भएका विद्यार्थीका लागि स्थापना गरिएको केन्द्र सञ्चालनमा नआउँदा यहाँ राखिएका कम्प्युटर, ल्यापटप र डिजिटल डिस्प्ले बोर्ड प्रयोगविहीन भएका छन् । केही ल्यापटप भने प्राध्यापकहरूले प्रयोग गरिरहेको बताएका छन् । दाताको लगानीमा स्थापना भएका यी दुवै केन्द्र सञ्चालन नहुँदा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीले उद्देश्य अनुसारको फाइदा लिन नसकेको गुनासो गरेका छन् ।
क्याम्पस प्रशासन र व्यवस्थानले विद्युतीय पुस्तकालयको महत्व बुझाउन नसकेको र अपाङ्गता सहायता केन्द्र सञ्चालनमा अग्रसरता नदेखाउँदा आधुनिक उपकरण र प्राविधिको प्रयोगबाट विद्यार्थी बञ्चित भएका हुन् । विद्युतीय पुस्तकालय र अपाङ्गता सहायता केन्द्र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन प्राविधिक जनशक्ति, नियमित बजेट व्यवस्थापन र प्रयोगसम्बन्धी थप अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।