
काठमाडौं । मतदानको दिन जति नजिकिँदै छ, सामाजिक सञ्जालमा गलत सूचना तथा भ्रामक सामग्री उति बढी देखिइरहेका छन् ।
मतदाताको निर्णय प्रक्रियामा समेत प्रभाव पार्ने नियतले पोस्ट भइरहेका यस्ता सामग्री र डिजिटल माध्यमलाई निगरानीमा राखिएको दाबी निर्वाचन आयोगले गरिरहेको छ । यसका लागि आयोगले साइबर ब्युरोका कर्मचारी फिल्डमै खटाएको पनि छ । तर सामजिक सञ्जालमा यस्ता भ्रामक सामग्री आउने क्रम रोकिएको छैन ।
गत माघ ५ गते जनकपुरमा भएको सभाका क्रममा खुट्टामा चोट लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल भर्ना हुनुपर्यो । यो खबर सार्वजनिक भएलगत्तै उहाँको खुट्टामा ब्यान्डेज लगाएको तस्बिर तथा भिडियो सार्वजनिक भए । कुरा यतिमात्र सीमित भएन ।
लामिछानेको अहिले दायाँ त, कहिले बायाँ खुट्टामा ब्यान्डेज लगाएका तस्बिर आइरहे, जसले शुभेच्छुकलाई भ्रमित बनायो । कान्तिपुरले फ्याक्ट चेक गर्दा यस्तो सामग्री भ्रामक रहेको पुष्टि भयो । लामिछानेले उपचार गराइरहेको विषयमा अस्पतालले त विज्ञप्ति नै जारी गर्नु परेको थियो ।
सामाजिक सञ्जालमा आएका भ्रामक सामग्रीको सूची यतिमा मात्र सीमित छैन । टिकटकमा पोस्ट भएको यो भिडियो हेर्नुहोस्-नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै हुनुहुन्छ । डीप फेकबाट बनाइएको यो भिडियो समाचार तयार पार्दासम्म ४ लाख ९२ हजारभन्दा बढीले हेरेका छन्, जसबाट मतदातालाई भ्रमित पार्ने प्रयास गरिएको छ ।
यस्ता भ्रामक सामग्री रोक्न निर्वाचन आयोगले टिकटकसँग सम्झौता नै गरेको छ भने साइबर ब्युरोका कर्मचारी फिल्डमै खटाएको छ । तर सामाजिक सञ्जालभरि छ्याप्छ्याप्ती छन् । निर्वाचन आचारसंहिता लागू भएसँगै साइबर ब्युरोले यस्ता २ सय ६९ सामग्री सामाजिक सञ्जालबाट हटाएको छ ।
जसमध्ये १५६ वटा आयोगले पठाएका हुन भने ११३ वटा ब्युरोले हटाएको हो । कतिपय सामाजिक सञ्जालका सम्पर्क कार्यालय र व्यक्ति नेपालमै नरहेकाले यस्ता सामग्री हटाउन समस्या भइरहेको ब्युरोले जनाएको छ । यद्यपि, यस्ता मिथ्या सूचना, नक्कली प्रोफाइल, डिजिटल ठगी तथा द्वेषपूर्ण सामग्रीमाथि निगरानी गर्दै कारवाहीको दायरामा ल्याउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
नेपालमा १ करोड ७० लाखभन्दा बढी प्रयोगकर्ता रहेको डाटा रिपोर्टलको तथ्यांकले जनाएको छ । दक्षिण एसियाली मुलुकमा सरदर ७० देखि ७५ प्रतिशत प्रयोगकर्तालाई सक्रिय प्रयोगकर्तामा राखिन्छ । सक्रिय ७० प्रतिशतको १० प्रतिशतले दिनको एउटामात्र पोष्ट वा सेयर गरे भने पनि नेपालमा दैनिक कम्तिमा १२ लाख पोष्ट सामाजिक सञ्जालमा गरिन्छन् ।
चुनावका बेला त यो संख्या झन् बढने गर्छ । यहीकारण निर्वाचनका बेला डिजिटल सुरक्षा र साइबर अपराध नियन्त्रण प्रमुख चुनौतीका रूपमा देखिएको प्रहरीको विश्लेषण छ । निर्वाचनलक्षित मिथ्या सूचना फैलाउने, नक्कली एकाउन्ट प्रयोग गर्ने र जनमत प्रभावित पार्ने प्रयास भइरहेको सुरक्षा निकायको विश्लेषण छ ।
सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना, बनावटी भिडियो, एआई–निर्मित सामग्री र लक्षित डिजिटल प्रचारले मतदाताको धारणा प्रभावित गर्न सक्ने खतरा रहेको विज्ञहरुको विश्लेषण छ । यस्तो अवस्थामा डिजिटल साक्षरता बढाउनुपर्ने र प्राविधिक स्रोतसाधन र जनशक्तिमा लगानी बढाउनुपर्ने डिजिटल सुरक्षा विश्लेषक प्रशान्त उपाध्याय बताउनुहुन्छ ।
प्रविधि विकासको गति निकै तीव्र भएकाले भ्रामक सामग्री पहिचान गर्न सक्ने गरी डिजिटल साक्षरता अभियान चलाउन आवश्यक रहेको विज्ञहरू बताउँछन् । डिजिटल सुरक्षा सुदृढ गर्न नसके स्वच्छ र निर्वाचनको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले यसतर्फ राज्य, सुरक्षा निकाय र नागरिक पनि जिम्मेवार हुन आवश्यक छ ।