संखुवासभामा निर्वाचन सुरक्षाको नमुना अभ्यास

सुरक्षा संयन्त्रको संयुक्त प्रदर्शन
फाल्गुन ९, २०८२ |दीपेन्द्र शाक्य
संखुवासभामा निर्वाचन सुरक्षाको नमुना अभ्यास

संखुवासभा । संखुवासभामा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै व्यापक सुरक्षा तयारी गरिएको छ। 

निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले खाँदबारीमा शनिबार नमुना मतदान तथा मतदान स्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास सम्पन्न गरिएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा सुरक्षा निकायहरूले प्रत्यक्ष अभ्यासमार्फत आफ्नो भूमिका प्रदर्शन गरेका थिए।

अभ्यासमा नेपाल सेनाअन्तर्गतको इन्ददल गुल्म, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको सक्रिय सहभागिता रहेको थियो। संयुक्त रूपमा गरिएको प्रदर्शनले मतदान केन्द्रमा हुन सक्ने सम्भावित जोखिम, विवाद तथा भीड व्यवस्थापनका उपायहरूलाई व्यवहारिक रूपमा प्रस्तुत गरेको थियो।

प्रदर्शनका क्रममा नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थल बाहिर सामान्य विवाद उत्पन्न हुँदा कसरी संयमित ढंगले भीड नियन्त्रण गर्ने भन्ने विषयमा अभ्यास प्रस्तुत गरे। उनीहरूले संवादमार्फत समस्या समाधान गर्ने, आवश्यक परे न्यूनतम बल प्रयोग गर्ने र मतदान प्रक्रिया अवरुद्ध हुन नदिने रणनीति देखाएका थिए। 

त्यसैगरी सशस्त्र प्रहरी बल र नेपाल सेनाले मतदान केन्द्रभित्र हुलदंगा हुन नदिन अपनाइने सुरक्षा घेरा, संवेदनशील क्षेत्रको निगरानी, आकस्मिक अवस्थाको तत्काल प्रतिकारजस्ता उपायहरूको प्रदर्शन गरेका थिए।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।