जाजरकोटमा निर्वाचनलक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन

माघ २८, २०८२ |सरोज वली
जाजरकोटमा निर्वाचनलक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन

जाजरकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जाजरकोटमा संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल जाजरकोट गुल्मको आयोजनामा सम्पन्न उक्त अभ्यासले जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै एकीकृत सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाइएको छ। निर्वाचन अवधिमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा मतदान गर्ने सुनिश्चितता प्रदान गर्न सुरक्षाकर्मीहरूले योजनाबद्ध रूपमा आफ्नो तयारी र सीप प्रस्तुत गरेका थिए।

अभ्यासका क्रममा मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, हुलदंगा नियन्त्रण, भीड व्यवस्थापन, संवेदनशील परिस्थितिको सामना गर्ने तरिका तथा आपतकालीन अवस्थामा तुरून्त प्रतिक्रिया दिने सम्बन्धी विशेष अभ्यास निर्वाचनमा खटिने सुरक्षाकर्मीहरूलाई गराइएको थियो।

कार्यक्रमको जिल्ला निर्वाचन कार्यालयले समन्वय गरेको थियो। निर्वाचनका क्रममा हुन सक्ने अवरोध तथा निर्वाचनविरोधी गतिविधिलाई कसरी नियन्त्रण र निस्तेज पार्ने भन्ने विषयमा संयुक्त रूपमा अभ्यास गरिएको थियो। मतदान केन्द्रको सुरक्षामा तीनवटै सुरक्षा निकायको संयुक्त भूमिका कस्तो रहनेछ भन्ने विषयमा नमुना अभ्यासमार्फत स्पष्ट पारिएको थियो । 

यसले निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरूको मनोबल थप उच्च बनाउने विश्वास गरिएको छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।