
काठमाडौं । कान्तिपुर कन्क्लेभ-२०२६ को दोस्रो दिनका सहभागीहरूले अहिले नागरिकलाई मिडियाभन्दा सामाजिक सञ्जालले गाइड गरेको बताएका छन् ।
पहिलो सत्र 'संवादको चौतारी : अल्गोरिदमको उल्झन' का वक्ताहरूले मूलधारका मिडियालाई जसरी नै सामाजिक सञ्जाललाई पनि मागदर्शन चाहिने बताएका छन् । बाह्रखरी अनलाइनका प्रधानसम्पादक प्रतीक प्रधानले अहिले डिप फेक बढेको भन्दै त्यसबाट सचेत हुनुपर्ने बताउनुभयो ।
सामाजिक सञ्जालमा कति वटा लाइक र कमेन्ट आए, कति वटा सेयर भयो भनेर गन्ती हुन थालेको उहाँको भनाइ छ । राजनीतिकर्मी निशा अधिकारीले निर्वाचन आयोगले मूलधारका मिडियाका लागि गाइडलाइन निकाले जसरी उम्मेदवारका लागि पनि सामाजिक सञ्जालको गाइडलाइन निकाल्नुपर्ने सुझाव दिनुभयो ।
एआई विज्ञ दोभान राईले प्रविधि मात्र समस्या नरहेको बताउनुभयो । अल्गोरिदमले आक्रोश वा नराम्रो कुरामा धेरै इंगेजमेन्ट भएको र एउटा अल्गोरिदम आफैंले पनि यसमा धेरै इंगेजमेन्ट आउँछ भनेर फर्मुला बनाएर पस्किरहेको उहाँको भनाइ छ ।
पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यातले सामाजिक सञ्जालमा भ्युज र भावनात्मक प्रतिक्रिया कमाउने होडमा लाग्नु गलत भएको बताउनुभयो । फागुन २१ को निर्वाचनको उम्मेदवार समेत रहनुभएका बस्न्यातले आफू अल्पकालीन भ्युजभन्दा दीर्घकालीन यात्रामा विश्वास गर्ने बताउनुभयो ।
कान्तिपुर कन्क्लेभ-२०२६ को दोस्रो दिन मंगलबार ६ वटा सत्रमा वक्ताहरुले वहस गर्नेछन ।