नेपालगन्ज । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ ।
२० जना उम्मेदवार रहेको यो क्षेत्रमा मतदाताबीच अपेक्षित चुनावी उत्साह नदेखिँदा प्रतिस्पर्धा कुन रूपमा हुन्छ भन्नसक्ने अवस्था छैन । हरेक निर्वाचनमा फरक–फरक दललाई जिताउँदै आएको यो क्षेत्र यसपटक पनि खुला प्रतिस्पर्धाको केन्द्र बनेको छ।
नेपालगन्ज उपमहानगरपालिकाका २१ वडा र डुडुवा गाउँपालिकाका ६ वडा समेटिएको बाँके-२ हरेक निर्वाचनमा फरक नतिजा दिने क्षेत्र हो । ०६४ मा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला, ०७९ मा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र ०७४ मा संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई यहाँबाट विजयी भएका छन्।
यही इतिहासका कारण यसपटक पनि यहाँको प्रतिस्पर्धा खुला रहेको विश्लेषण गरिएको छ। यसपटक पार्टी फेरेर मोहम्मद इस्तियाक राई नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएको छ भने नेपाली कांग्रेसबाट सुधांशु कोइराला, राप्रपाबाट ऋषिराज देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीबाट दीपेन्द्र विष्टसहित २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
१ लाख ८ हजार २९० मतदाता रहेको यस क्षेत्रमा ४३ मतदान स्थल र १ सय २४ मतदान केन्द्र छन् । यस निर्वाचन क्षेत्रमा विरासत जोगाउने, गुमेको प्रभाव फर्काउने र नयाँ राजनीतिक शक्तिको उपस्थितिलाई चासोको रूपमा हेरिएको छ। पहाडी, मधेशी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको बाँके-२ मा मतदाताको फैसला कसको पक्षमा जान्छ भन्ने आकलन गर्न नसक्ने देखिइरहँदा उम्मेदवारहरू भने आआफ्नै जितको दाबी गर्छन् ।
उनीहरूका जितका आधार के-के हुन् त ? बाँके-२ मा पुराना स्थापित दल, नयाँ राजनीतिक शक्ति र पार्टी फेरेका उम्मेदवारबीच नै तीव्र प्रतिस्पर्धा हुने सामान्य मनोविज्ञानका बीच मिश्रित जातीय संरचना र अघिल्ला निर्वाचनका फरक नतिजाले यस क्षेत्र यसपटक पनि सबैको चासोमा परेको छ ।