
पाँचथर । लेखक, साहित्यकार तथा फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष अमर नेम्वाङको स्मृतिमा स्थापना गरिएको स्वर्गीय अमर नेम्वाङ स्मृति स्रष्टा सम्मान कान्तिपुरकर्मी दिपक सापकोटासहित तीन स्रष्टालाई अर्पण गरिएको छ ।
नेम्वाङको सातौं स्मृति दिवसको अवसरमा फिदिममा आयोजित भव्य समारोहमा सोमबार पुरस्कार अर्पण गरिएको हो । पुरस्कृत हुनेमा सापकोटासहित कवि देवेन्द्र सोक्तेन र साहित्यकार मलिसा याक्थुम्बा छन् । कार्यक्रममा स्रष्टा त्रयलाई कार्यक्रमका प्रमुख अतिथि स्रष्टा एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य नरेन्द्रकुमार केरूङसहित उपस्थित अतिथिहरूले नगद पुरस्कार, दोसल्ला र कदर पत्र अर्पण गर्नुभयो ।
पुरस्कार राशी जनही नगद ५० हजार रूपैयाँ छ । पुरस्कृत कान्तिपुरकर्मी सापकोटा शनिबारीय परिशिष्टांक कोशेलीका संयोजक हुनुहुन्छ । पाण्डुलिपी मासिकका पूर्व सम्पादकसमेत रहेका पत्रकार सापकोटाको निबन्ध विधामा लोकेसन नामक पुस्तक र निबन्ध मोन्ताज’ नामक निबन्ध संग्रह प्रकाशित भएका छन् ।
पुरस्कृत अर्का स्रष्टा सोक्तेन कविता लेखनसँगै साहित्यका विभिन्न विधामा कलम चलाइरहेका छन् भने याक्थुम्बा लिम्बू साहित्यका सिद्वहस्त लेखक हुन् । नेम्वाङको सातौं स्मृति दिवसका अवसरमा आयोजित सोहि कार्यक्रममा फाल्गुनन्द गाउँपालिका सामुदायिक विद्यालयमा अध्ययनरत तीनजना छात्रछात्रालाई जनही नगद १० हजार राशीको छात्रवृत्ति प्रदान गरिएको छ ।
सोहि कार्यक्रममा गत असोज महिनामा भएको अविरल वर्षासँगै गएको बाढी पहिरोबाट प्रभावित भएका ६ परिवारलाई प्रतिपरिवार १० हजारका दरले राहत वितरण पनि गरिएको छ । पुस्कार स्वर्गीय अमर नेम्वाङको स्मृति दिवसको अवसर पारेर हरेक वर्ष माघ २६ गते प्रदान गरिने आयोजक अमर नेम्वाङ स्मृति प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङ बताउनुभयाे ।