
काठमाडौँ- श्रीलंकाको डेली मिररकी पत्रकार कामन्थी विक्रमसिंघेले जनताको अपेक्षाअनुसार तत्कालीन महिन्दा राजापाक्षे नेतृत्वको सरकार अगाडि बढ्न नसक्दा आफ्नाो मुलुकमा आन्दोलन भएको बताउनुभएको छ ।
काठमाडौंमा सोमबारदेखि सुरु 'कान्तिपुर कन्क्लेभ' को पाँचौं संस्करणमा वक्ताको रुपमा बोल्दै विक्रमसिंघेले वर्षौं लामो गृहयुद्धको अन्त्यपछि जनताले आर्थिक सुधारको अपेक्षा गरे पनि सरकारले काम गर्न नसक्दा आन्दोलन भएको बताउनुभयो ।
सन् २०१५ को राष्ट्रपति निर्वाचनमा श्रीलंकाली जनताले आशा र स्थिरताका लागि नेतृत्व चयन गरेको उहाँले बताउनुभयो । 'चुनावमा जनतामाझ गरेका वाचा र जनताका आशा पूरा गर्न नसक्दा आन्दोलन भएको हो । महिन्दा राजापाक्षेलाई सत्ताच्युत गरेर भएको निर्वाचनपछि आएको वर्तमान सरकारबाट जनता खुसी छन्,' उनले भनिन्, 'आन्दोलनपछिको चुनावबाट आएको सरकारले भ्रष्टाचार गरिरहेको छैन भन्ने जनताले भनिरहेका छन् ।'
राजापाक्षेको शासनमा नातावाद र भ्रष्टाचार बढेको पत्रकार विक्रमसिंघेको भनाइ छ । 'राजापाक्षे परिवार पुनः सत्तामा आयो । उनीहरूको शासन वंशवादी बन्यो, जहाँ व्यापक नातावाद र भ्रष्टाचार देखियो,' उहाँले भन्नुभयो ।
राजापाक्षेको नेतृत्वले ठूला आर्थिक नीति लिएको र कर कटौती लगायतका निर्णय गर्दा गम्भीर आर्थिक संकट निम्त्याएको विक्रमसिंघेको भनाइ छ । आर्थिक संकट सबै वर्ग, लिंग, उमेरसमूहको जनजीवनलाई प्रभावित गरेको र उनीहरू सडकमा आएको उहाँले बताउनुभयो ।