सरकार कमजोर हुँदा देशका युवाको अवस्था दयनीय बन्यो : प्रकाश बोहरा

माघ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार कमजोर हुँदा देशका युवाको अवस्था दयनीय बन्यो : प्रकाश बोहरा

काठमाडौं । जेन-जी आन्दोलनका घाइते प्रकाश बोहराले सरकारले युवाका लागि केही गर्न नसकेका कारण आफू रोजगारीका लागि विदेशिनुपरेको बताउनुभएको छ । 

कान्तिपुर कन्क्लेभको सत्र 'जेन-जी विद्रोह : जुत्ताको कथा'मा बोल्दै उहाँले देशको अवस्था र पारिवारिक कारणले आफूजस्तै धेरै युवा विदेशिनुपरेको उल्लेख गर्नुभयो । 'म जुन गतिमा हिँड्न चाहेको थिएँ, सरकारले नै दिएन,' उहाँले भन्नुभयो, 'सरकारले युवाका लागि केही गर्न नसकेपछि म युक्रेन युद्धमा जान बाध्य भएँ ।'

पढाइ सकेर लोकसेवा आयोगको परीक्षा दिए पनि सफल नभएपछि आर्मी हुने चाहना राखेको उहाँले बताउनुभयो । 'तर कोभिडको समयमा सबै कुरा बिग्रियो,’ उहाँले भन्नुभयो , ‘सरकार कमजोर हुँदा देशका युवाको अवस्था दयनीय बनेको छ । वैदेशिक रोजगारी बाध्यता बनेको छ ।'

जेन–जी विद्रोहको आइकन बनेको रगताम्मे जुत्ता बोहराकै थियो । दैलेखको नारायण नगरपालिका–८ स्थायी घर भएका उहाँको खुटामा गोली लागेको थियो । 'युद्धभूमिका नङ पनि झरेको थिएन तर यहाँ प्रश्न गर्दा सरकारले मलाई गोली हान्यो,' उहाँले भन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.