
काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सचेत समाजको आधार भनेकै सही सूचना, बहस र संवाद भएको बताउनुभएको छ । कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणको पहिलो दिन काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफूहरूले समाचार र विचारको दैनिक अभ्याससँगै राष्ट्रिय महत्त्वका मुद्दामा केन्द्रित रहेर बहस र संवादका मञ्चलाई समेत निरन्तर अगाडि बढाइरहेको बताउनुभयो ।
'कान्तिपुर कन्क्लेभको विशेषता नै यसले नेपाललाई केन्द्रमा राखेर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारलाई एउटै मञ्चमा ल्याउनु हो । हामी साझा सरोकारका मुद्दामा सर्वपक्षीय सार्वजनिक बहस हुनुपर्छ भन्ने मान्यता राख्छौं,' उहाँले भने, 'पाँचौं संस्करणसम्म आइपुग्नु निरन्तरता, भरोसा, सहभागिता र सहकार्यको परिणाम हो ।'
नेपाल लामो समयदेखि शासकीय अस्थिरता, संस्थागत कमजोरी, विश्वासको संकट र अर्थतन्त्रको दबाबसँग जुध्दै आएको भन्दै अध्यक्ष सिरोहियाले त्यससँगै नेपाली समाजभित्र नयाँ चेतनासमेत विस्तार भएको बताउनुभयो । 'पछिल्ला समयका आन्दोलन, असन्तोष र नागरिक आवाजले राज्य र राजनीतिक नेतृत्वलाई अब कता, कसरी र कसको नेतृत्वमा भनेर नयाँ किसिमका प्रश्नहरू सोधिरहेका छन्,' उहाँले भन्नुभयो ।
गाउँबस्तीदेखि सहरसम्म, युवा पुस्तादेखि पाका नागरिकसम्म, सडकदेखि डिजिटल मञ्चसम्म प्रश्न चर्का देखिए पनि तिनका जवाफ खोक्रा देखिएको उहाँले बताउनुभयो । धाराप्रवाह भाषण, चर्का नारा र आकर्षक आश्वासनले नागरिकको आकांक्षालाई सम्बोधन गर्न नसकिने उहाँको भनाइ थियो । 'आजको आवश्यकता शान्त, तथ्यमा आधारित, इमानदार र परिणाममुखी राष्ट्रिय संवाद हो । त्यही प्रयोजनका लागि ‘कान्तिपुर कन्क्लेभ’लाई सार्थक मञ्च बनाउने हाम्रो संकल्प छ,' उहाँले भन्नुभयो ।