अभिनेता थापाको निधनले नेपाली चलचित्र क्षेत्रले दरिलो खम्बा गुमायो : प्रधानमन्त्री कार्की

माघ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
अभिनेता थापाको निधनले नेपाली चलचित्र क्षेत्रले दरिलो खम्बा गुमायो : प्रधानमन्त्री कार्की

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उहाँका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल भएका बताउनुभएको छ ।

प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताउनुभएको छ । सन्देशमा उहाँले 'चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ,' भन्नुभएको छ ।

प्रधानमन्त्रीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.