
काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ ।
जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिवारदेखि पुनः सञ्चालनमा आएको हो । भाटभटेनी शुभारम्भ गर्दै प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनि भगवानसँग प्रार्थना गर्नुभयो । उहाँले जेन–जी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम गरेको घटना दुःखद् भए पनि आफूले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको बताउनु भयो । प्रवन्ध निर्देशक गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुन सञ्चालनमा ल्याउने समेत बताउनु भयो । उहाँले जेन–जी आन्दोलनको दुःखद् घटनाले भाटभटेनीमात्रै नभएर सिंगै नेपाललाई राम्रो हुने दाबी समेत गर्नुभयो । नागासाकी र हिरोसीमा ध्वस्त भएपछि जापान बनेजस्तै जेन–जी आन्दोलनले ध्वस्त बनाएको नेपाल पनि अब राम्रो हुने प्रवन्ध निर्देशक गुरुङको विश्वास थियो ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पतीको रुपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा अर्बौंको क्षति भएको थियो । ती सबै सुपरमार्केटहरुको सञ्चालनमा ढिलाई नहुने प्रवन्ध निर्देशक गुरुङले बताउनु भयो ।