
काठमाडौै । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भारतीय वस्तुमाथि लाग्दै आएको भन्सार शुल्क २५ प्रतिशतबाट १८ प्रतिशतमा झारिएको घोषणा गर्नुभएको छ । रुसबाट तेल खरिद बन्द गर्न भारत तयार भएसँगै ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।
भारतले अब अमेरिकामाथि लगाइएका व्यापार अवरोधहरुलाई पनि कम गर्नेछ । त्यस्तै, रुसको साटो अमेरिका र भेनेजुएलासँग तेल किन्नेछ । ट्रम्पले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा तत्कालै व्यापार सम्झौता गर्न सहमत भएको बताउनुभएको छ । ५ सय बिलियन डलरभन्दा धेरै मूल्य बराबरको अमेरिकी उर्जा, प्रविधि, कृषि र अन्य उत्पादक किन्नका लागि पनि मोदी प्रतिवद्ध रहेको ट्रम्पले बताउनुभएको छ ।
भारतका प्रधानमन्त्री मोदीले पनि यस निर्णयबाट खुसी रहेको र अब भारतमा बनेका सामग्रीमाथि भन्सार घटेर १८ प्रतिशतमात्रै लाग्ने बताउनुभएको छ । दुवै मुलुकबीच लामो समय चलेको व्यापार तनावपछि यस्तो सहमति भएको हो । गत अगस्टमा ट्रम्पले भारतबाट अमेरिकामा आयात हुने सामग्रीमा भन्सार शुल्क दोब्बर बनाएर ५० प्रतिशत पुर्याउने चेतावनी दिनुभएको थियो । भारतलाई रुसी तेल खरिद नगर्नका लागि दबाब दिन यसरी भन्सार शुल्क बढाइएको थियो । यसै महिनाको सुरुवातमा अमेरिकाले रुससँग तेल खरिद बन्द गर्नका लागि फेरि दबाब दिएको थियो ।
भेनेजुएलाको तेल खरिद गर्न पनि अमेरिकाले आव्हान गरेको थियो । भारतले वर्षौंदेखि भेनेजुएलासँग तेल किनिरहेको थियो । पछिल्लोपटक एक वर्षअघिसम्म पनि भारतले भेनेजुएलाबाट तेल किनेको थियो । तर, अमेरिकामा ट्रम्प राष्ट्रपति चुनिएर आएसँगै भेनेजुएलाको तेल खरिद गर्नेहरुमाथि प्रतिबन्ध लगाउन थालेपछि भारत पछि हटेको थियो । अब भेनेजुएलाको तेललाई अमेरिकाले नै विश्वबजारमा बेच्ने तयारी थालेको छ । यस विषयमा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजले पनि सहमति दिनुभएको छ ।
भारतमा तेल आयात उच्च छ । यहाँ झन्डै ९० प्रतिशत तेल विदेशबाट आउँछ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा बजारमा रुसी तेलको निर्यात बन्द भयो । त्यसयता, रुसले सस्तोमा भारतलाई तेल बेच्दै आएको छ । जसकारण, रुससँग भारतको निर्भरता बढेको थियो । तर पछिल्ला महिनामा भारतले यस निर्भरतालाई कम गर्न थालेको छ । वासिङटनले भन्सार शुल्क वृद्धि गरेयता भारतीय बजार नराम्रोसँग प्रभावित भएको छ । यहाँबाट ठूलो संख्यामा विदेशी लगानीकर्ता बाहिरिएका छन् ।
युरोपेली युनियनसँग स्वतन्त्र व्यापार सम्झौता गरेको केही दिनभित्रै अमेरिकासँग भारतले भन्सार कटौतीको सहमति गरेको हो । नयाँ सम्झौताअनुसार भारतबाट ईयुअन्तर्गतका २७ वटा देशहरुमा जाने ९९ प्रतिशत सामग्रीमा भन्सार शुल्क कम वा शु्न्य हुनेछ ।