फागुन २१ को निर्वाचन सुरक्षामा सेना-प्रहरीको व्यापक तयारी

८९ हजार सैनिकसहित डेढ लाखभन्दा बढी जनशक्ति परिचालन हुने
माघ १९, २०८२ |दशरथ राई
फागुन २१ को निर्वाचन सुरक्षामा सेना-प्रहरीको व्यापक तयारी

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि सबै तयारी पूरा भएको सुरक्षा निकायले दाबी गरेका छन् । 

नेपाली सेना र नेपाल प्रहरीले सातवटै प्रदेशका लागि रणनीति तयार गरिरहेको र त्यसअनुसार नै सुरक्षा जनशक्ति परिचालनको योजना बनाइएको जनाएका छन् । नेपाली सेनासहितको टोलीले आगामी सातादेखि संयुक्त गस्ती सुरु गर्ने तयारी गरिएको छ ।

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन सुरक्षालाई लिएर दलहरुले प्रश्न उठाइरहेका बेला नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीको टोली तैनाथ गर्ने तयारी गरिएको छ । नेपाली सेनाले ८९ हजार सैनिक खटाउने तयारी गरेको छ भने नेपाल प्रहरीले समेत निर्वाचन प्रहरीसहित झन्डै साढे १ लाख जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । 

त्यसैगरी सशस्त्र प्रहरीले समेत आफ्नो जनशक्ति परिचालन गर्नेछ । नेपाली सेनाले निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपछिको तयारी गरी तीन घेरामा सुरक्षा दस्ता खटाउने जनाएको छ । सेनाले १ सय ६५ निर्वाचनक्षेत्रलाई मध्यनजर गर्दै पूर्व, काठमाडौं, मध्य र सुदूरपश्चिम गरी चार स्थानबाट हवाई गस्तीसहित स्रोतसाधन परिचान गर्ने तयारी गरेको छ । 

सेनाले निर्वाचनक्षेत्रमा एरिया पेट्रोलिङ समेत गर्ने छ । त्यसैगरी नेपाल प्रहरीले सातवटा प्रदेशका लागि आफ्ना ७० हजारभन्दा बढी जनशक्ति परिचालन गर्नेछ । नेपाल प्रहरीले प्रदेशको जनसंख्या तथा निर्वाचनक्षेत्रलाई मध्यनजर गरेर जनशक्ति खटाउँदैछ । 

नेपाल प्रहरीले निर्वाचनका बेला आवश्यकताका आधारमा पहिलो, दोस्रो र तेस्रो घेरमा निर्वाचन प्रहरीसहित जनशक्ति खटाउने प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिनुभयो । फागनु २१ गतेको निर्वाचन भयरहित रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने सुरक्षा निकायले जनाएका छन् । 

सेना र प्रहरी दुवैले निर्वाचनका लागि मतपेटिका, उम्मेदवार, मतदातासहित मतदान अधिकृतहरुको सुरक्षा सुदृढ बनाउने गरी काम गरिरहेको दाबी गरेका छन् । निर्वाचनमा मतपेटिकाको सुरक्षाका लागि पहिलो तथा दोस्रो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी तैनाथ हुनेछन् भने तेस्रो घेरामा नेपाली सेना र सशस्त्र बलमा सुरक्षाकर्मी खटिनेछन् । 

निर्वाचन प्रहरीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले १० दिने तालिमसमेत सुरु गरिसकेका छन् । निर्वाचन आउन एकमहिना मात्र बाँकी रहँदा निर्वाचनको सुरक्षामा ढुक्क हुन र भयरहित वातावरणमा निर्वाचनमा भाग लिनसमेत सुरक्षा निकायले आग्रह गरेका छन् ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।