सुनसरी-३ मा गच्छदार-चौधरीबीच प्रतिस्पर्धा : रास्वपाको इन्ट्रीले चुनावी सरगर्मी चुलियो

माघ १८, २०८२ |अर्जुन सुवेदी
सुनसरी-३ मा गच्छदार-चौधरीबीच प्रतिस्पर्धा : रास्वपाको इन्ट्रीले चुनावी सरगर्मी चुलियो

सुनसरी । नेपाली राजनीतिमा शक्ति र सत्ताको खेल बुझ्ने चतुर खेलाडीका रूपमा चिनिने विजयकुमार गच्छदार उम्मेदवार बनेको सुनसरी-३ मा चुनावी सरगर्मी बढेको छ । 

लगातार छैटौं पटक चुनाव जितेका गच्छदार गत निर्वाचनमा भने पहिलोपटक पराजित हुनुभएको थियो । यसपटक फेरि जितका लागि प्रतिस्पर्धामा उत्रिँदा एमालेकी भगवती चौधरी लगातार दोस्रो पटक गच्छदारलाई पराजित गर्ने रणनीतिमा हुनुहुन्छ । १८ वर्षदेखि निरन्तर प्रतिस्पर्धी बन्दै आएका गच्छदार र चौधरीको बीचमा रास्वपाका अशोक चौधरीको इन्ट्रीले सुनसरी-३ को चुनावी प्रतिस्पर्धा रोमाञ्चक हुने आकलन छ । 

महेन्द्र मोरङ क्याम्पसबाट २०२७ सालदेखि राजनीतिक यात्रा सुरू गरेका गच्छदार सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेसबाट २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो । २०६४ सालमा मधेशको माग सम्बोधन नगरेको भन्दै कांग्रेससाग असन्तुष्ट भएर मधेशी जनअधिकार फोरम नेपालमा आबद्ध भई फेरि उहाँ सुनसरी-३ बाट विजयी हुनुभयो । 

२०४८ सालपछि अहिलेसम्म १८ पटक मन्त्री भइसकेका गच्छदार जिल्लाको समग्र विकासका निम्ति आफूले सबैभन्दा बढी योगदान दिएका कारण विजयी हुनेमा ढुक्क रहेको बताउनुहुन्छ । गच्छदारलाई चुनौती दिँदै एमालेकी भगवती चौधरी लगातार तेस्रो पटक चुनावी भिडन्तमा हुनुहुन्छ । गत निर्वाचनमा फराकिलो मतान्तरले गच्छदारलाई हराएकी चौधरी दोस्रोपटक चुनाव जित्ने आत्मविश्वासमा देखिनुहुन्छ ।

१ लाख ३४ हजार ३ सय २ मतदाता रहेको सुनसरी-३ मा आधाभन्दा बढी मतदाता थारू समुदायका छन् । त्यसैले गच्छदार र चौधरी दुवैको मुख्य ध्यान जातीय मत आफ्नो पक्षमा पार्नमा केन्द्रित देखिन्छ । तर गत निर्वाचनमा राम्राे मत ल्याएको रास्वपाबाट निवर्तमान सांसद अशोक चौधरी पनि सुनसरी-३ बाट उम्मेवार बन्नुभएको छ । 

केही स्वतन्त्र उम्मेदवार र साना दलको उपस्थिति पनि चुनावी समीकरणमा प्रभाव पार्ने भएकाले आफ्नो जित सुनिश्चित रहेको रास्वपा उम्मेदवार चौधरीको दाबी छ । सुनसरीका १२ स्थानीय तहमध्ये गढी र बर्जु गाउँपालिका तथा दुहबी नगरपालिकाका सबै वडा समेटिएको सुनसरी-३ मा इटहरी उपमहानगरपालिका १० र इनरूवाका ७ वडा पर्छन् । 

यहाँको चुनावी नतिजाले सत्ताको लामो अनुभव बोकेका गच्छदारको विरासत फर्किन्छ या भगवती चौधरीले नै बाजी मार्नुहुन्छ वा रास्वपाका अशोक चौधरीको उदय हुन्छ वा चामत्कारी रूपले अरू कुनै उम्मेदवार विजयी हुन्छन्, सबैको चासो बढेको छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।