
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबिच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदै छ ।
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नागनागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।
काठमाडौं उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ । यहाँ करिब १६२ महिला र १५ पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रूपमा मनाउँछन् ।