शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँ : सुनिता डंगोल

माघ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शहीद दिवसका दिन काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले शहीदहरूले दिनुभएको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताउनु भयो । 

उहाँले विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरूको बलिदानकै कारण सम्भव भएको बताउनु भयो । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरुकै बलिदानका कारण सम्भव भएको जिकिर गर्नुभयो । 

कार्यवाहक प्रमुख डंगोलले यो उपलब्धी युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन भएको बताउनु भयो । शहीदहरूको बलिदानबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्ने उहाँले बताउनु भयो । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा रहेको उहाँले जिकिर गर्नुभयो ।

कार्यवाहक प्रमुख डंगोलले शहीदहरूलाई दिन विशेष सम्झना गर्नुभन्दा उहाँहरूबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक प्रभाव देखिने गरी काम गर्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.