भरतपुर महानगरका तत्कालीन इन्जिनियर आचार्यविरूद्ध पौने ७ करोडको भ्रष्टाचार मुद्दा दायर

माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
भरतपुर महानगरका तत्कालीन इन्जिनियर आचार्यविरूद्ध पौने ७ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन इन्जिनियर भरतकुमार आचार्यविरूद्ध पौने ७ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक ओहदाको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले आचार्यविरूद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । बिगोबमोजिम जरिवाना, कैद सजाय र भ्रष्टाचारबाट बढे/बढाइएको सम्पत्ति जफतको माग दाबी पनि अख्तियारले गरेको छ। 

अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि आचार्यकी पत्नी लिली सुवेदीलाई पनि प्रतिवादी बनाएको छ । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यले पदीय मर्यादाविपरित कार्यबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा आचार्यको २०४८ माघ ६ देखि २०८० असार ६ सम्मको सम्पत्तिमा जाँचबुझ गर्दा स्रोत नखुलेको सम्पत्ति भेटिएपछि त्यसैलाई बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.