प्यूठान । फागुन २१ मा हुने निर्वाचनका लागि प्यूठानमा दलहरूले उम्मेदवार छनोटसँगै चुनावी अभियान अघि बढाएका छन् ।
कस्ता छन् त प्यूठानका उम्मेदवार अनि तिनले अघि सारेका चुनावी एजेन्डा ?
नेपाली कांग्रेस प्यूठानले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डाक्टर गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका पोखरेल २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले)सहितको वाम गठबन्धनसँग पराजित हुनुभएको थियो ।
उहाँ देशमा लगानीको वातावरण सिर्जना, रोजगारीको वातावरण निर्माण र आर्थिक विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ । २०७९ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहितको गठबन्धनलाई पराजित गर्दै विजयी हुनुभएका नेकपा (एमाले)का उम्मेदवार सूर्य थापाले आसन्न निर्वाचनमा फेरि उम्मेदवारी दिनुभएको छ ।
कम समयमात्रै संसद्मा प्रतिनिधत्व गर्नपाएकाले पुराना वाचा पूरा नभएकाले उम्मेदवारी दिएको उहाँको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्यूठानमा कृष्णध्वज खड्काले उम्मेदवारी दिनुभएको छ । लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्रीसमेत रहनुभएका खड्काले राजनीतिक स्थायित्व र राष्ट्रिय स्वाधीनताका लागि उम्मेदवारी दिएको बताउनुहुन्छ ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जीसीको उम्मेदवारी परेको छ । नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, श्रम संस्कृति पार्टी, नेपाली जनता दललगायतका दलहरूले पनि उम्मेदवारी दिएका छन् ।
युवाको चाहना र जेन-जी आन्दोलनको उपलब्धीका लागि उम्मेदवारी दिएको बताउने युवा पुस्ता पनि उत्साहका साथ निर्वाचनमा होमिएका छन् । निर्वाचनलाई लिएर मतदाता पनि उत्साहित छन् । तर निर्वाचनताका उमेदवारले बाड्ने आश्वासनले मतदातालाई खासै फरक भने पारेको छैन् ।
पुराना तथा नयाा दलहरूबीच प्यूठानमा आगामी फागुन २१ मा हुने निर्वाचन रोचक हुने आकलन गरिएको छ । १ लाख ६५ हजार ४०६ मतदाता रहेको प्यूठानमा १५८ मतदान स्थलका २३० मतदान केन्द्र छन् ।