अर्घाखाँचीमा राजनीतिक दल र स्वतन्त्र गरि १५ जना उम्मेदवार मैदानमा

माघ १२, २०८२ |रुद्रमणि भुसाल
अर्घाखाँचीमा राजनीतिक दल र स्वतन्त्र गरि १५ जना उम्मेदवार मैदानमा

अर्घाखाँची । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनाव नजिकिँदै जाँदा देशभर चुनावी गतिविधि तिव्र बन्दैगएको छ । प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रमुख राजनीतिक दल रस्वतन्त्र गरि १५ जना उम्मेदवार मैदानमा छन् । मनोनयनपछि दलहरू मतदाता भेटघाट, कार्यक्रमा सक्रिय हुन थालेका छन् ।

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाललाई प्रतिनिधिसभाको सदस्य उम्मेदवार बनाएर चुनावी मैदानमा छ । स्नातक उत्तीर्ण खनाल ०५४ सालमा शिक्षकको स्थायी जागिरबाट राजीनामा दिएर राजनीतिमा सक्रिय हुनुभएको थियो । उहाँ पहिलोपटक संघीय निर्वाचनमा भिड्दै हुनुहुन्छ । 

नेकपा एमालेले जिल्ला पार्टी अध्यक्ष पिताम्बर भुसाललाई संसदीय चुनावमा उम्मेदवार बनाएर प्रचारप्रशारमा व्यस्त छ । दुवै उम्मेदवारले मतदातालाई आकर्षित गर्ने प्रयासमा जुटेका छन् । विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता विषय चुनावी बहसको केन्द्रमा रहेका छन् ।

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि राजनीतिक दलहरू थप दबाबमा देखिएका छन् । सो आन्दोलनले उठाएका सुशासन, रोजगारी र उत्तरदायित्वका मुद्दालाई मध्यनजर गर्दै अहिले उम्मेदवारी दिएका अधिकांश दल र केही स्वतन्त्र उम्मेदवारले आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।

धेरै उम्मेदवारले अर्घाखाँचीका किसानले भोग्नुपरेका बाँदर, बँदेलको समस्या समाधान गर्ने पहिलो एजेन्डा बनाएका छन् भने मतदाताहरू आफ्ना आवश्यक्ता पूरा हुने उम्मेदवारलाई मत दिने सोचमा रहेका छन् ।  

एकलाख ७१ हजार ६ सय ५२ मतदाता रहेको अर्घाखाँचीमा १०२ वटा मतदान स्थल र २०९ वटा मतदान केन्द्र छन् । नेकपा विभाजन र भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी मुछिएपछि झन्डै ४ वर्षदेखि जनप्रनिधिविहीन बनेको अर्घाखाँचीमा फागुन २१ गते हुने मतदानबाट जनताले आफ्नो प्रतिनिधि चयन गर्ने छन् ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।