बुटवलमा रहेको कृषि उपज थोक बजार केन्द्र किन विवादमा मुछियो ?

माघ १२, २०८२ |अमृता अनमोल
बुटवलमा रहेको कृषि उपज थोक बजार केन्द्र किन विवादमा मुछियो ?

रुपन्देही । बुटवलमा स्वदेशी मात्र होइन भारत र चीनसम्मका तरकारी र फलफूल कारोबार गर्ने कृषि उपज थोक बजार केन्द्र छ । १५ वर्षअघिदेखि संचालित यो बजार पछिल्लो समय भने विवादमा मुछिएको छ । बजारका ६५ सटर भाडामा लगाउन माग गरिएको बोलपत्र झण्डै डेढ वर्षदेखि प्रहरीमा छ ।

देशकै दोस्रो ठूलो कृषि बजार हो बुटवलको कृषि उपज तथा थोक बजार केन्द्र । दैनिक झण्डै २ करोडको फलफूल तथा तरकारीको कारोबार हुने यो केन्द्र २०६७ सालदेखि संचालनमा छ । यही कृषि बजार पछिल्लो समय भने अनिर्णयको बन्दी बनेको छ । बजारका ६५ सटर भाडामा लगाउन २०८१ भदौ २४ गते बोलपत्र आब्हान भएको थियो । 

सटरको मासिक भाडा न्युनतम ६ हजारदेखि अधिकतम २८ हजार राखेर २६७ जनाले बोलपत्र र ६ महिनाको भाडा रकम समेत बुझाएका छन् । तर हाल व्यवसाय गरीरहेका व्यवसायी बोलपत्रको विरोधमा उत्रदा अहिलेसम्म बोलपत्र खोलिएको छैन । बोलपत्रका कागजात प्रहरी कार्यालयमा थन्काइएको छ ।

कृषि उपज तथा थोक बजार केन्द्र बुटवल उपमहानगरपालिका ६ मा पुरानो बसपार्क पछाडि १ बिगाह ८ कठ्ठा क्षेत्रफलमा छ । नेपालका मात्र होइन भारत र चीनमा उत्पादित तरकारी र फलफूलहरु आउछन् । केन्द्रमा संघीय कृषि मन्त्रालयको ६०, बुटवल उपमहानगरपालिकाको २४ र लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको १६ प्रतिशत लगानी छ । 

 ठूलो सटरमा १ लाख ३० हजार र सानोमा ६० हजार रूपैयाँ लगानी गरेका व्यवसायीहरू कृषि उपज केन्द्रको तल्लो तलाका ६५ सटरमा छन् । १० वर्षमा लगानी कटाउने सम्झौता अनुसार व्यवसायीको सम्झौता २०७७ साल भदौमा सकिएको छ । सम्झौता सकिएपछि स्थापनाकालदेखि बसेका व्यवसायीहरु हट्न मानेका छैनन् ।

कृषि बजारमा अहिले मासिक ७ देखि १० हजार रुपैयाँ प्रतिसटर भाडा छ । बोलपत्रमा भने मासिक ७० हजार रुपैयाँसम्म भाडा बुझाउने कबोल गरेका छन् । तर, स्थापनादेखि बसेका व्यवसायी आफूहरु मात्र रहन पाउनुपर्ने माग सहित बोलपत्र रोक्न अदालत जानु र अदालतले बोलपत्र यथास्थितिमा राख्न आदेश दिनुले कृषि उपज थोक बजार अनिर्णयको बन्दी बनेको छ ।

बुटवलबाट कृषि उपजको सहज आयात र निर्यातका लागि भन्दै कृषि उपज तथा थोक बजार स्थापना भएको हो । बजार हेर्ने जिम्मा बुटवल उपमहानगर र प्रदेश सरकारलाई पनि छ । दुवै सरकारका प्रतिनिधि, व्यवसायी र किसान सम्मीलित समिति छ । तर, कृषि बजारलाई व्यवस्थित गर्नेमा तीन तहकै सरकारले ध्यान दिएका छैनन् ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।