तनहुँका मतदातालाई विकास र समृद्धिको पर्खाइ

चुनावका बेलामात्रै नेताहरू आश्वासनको पोको बोकेर गाउँ पस्ने गरेको गुनासो
माघ ११, २०८२ |प्रताप राना|पोषनाथ अधिकारी
तनहुँका मतदातालाई विकास र समृद्धिको पर्खाइ

तनहुँ । फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्तासँगै उम्मेदवारहरूले प्रचार थालिसेकका छन् । 

विकास र समृद्धि पर्खिरहेका तनहुँ क्षेत्र नम्बर १ का मतदाता भने आफ्नो अपेक्षाअनुरूप नहुँदा अझै अन्यौलमै छन् । विगतका निर्वाचनमा पुरानादेखि नयाँ, फरक-फरक दल र उम्मेदवारलाई जिताएर पठाएका त्यहाँका मतदाता सबैले आस्वासनमात्रै दिएको भन्दै यसपटक विकासप्रेमी नेता खोजिरहेका छन् ।

तनहुँ क्षेत्र नम्बर एकका मतदाताले पुरानादेखि नयाँसम्मका सबै दललाई मतदान गरिसके तर उनीहरूले सोचेजस्तो विकास र उनीहरूको अपेक्षाअनुसारको सुविधा अझै पाएका छैनन् । कस्तो व्यक्तिलाई मतदान गर्ने भन्ने अन्यौल उनीहरूमा यो पटक पनि कायमै छ ।

२०६४ देखि २०७९ सम्मका निर्वाचनमा विकास गर्ने आशामा माओवादी, एमाले, कांग्रेसका उम्मेदवारलाई निर्वाचित गरेका यहाँका मतदाताले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित बनेपछि भएको उपनिर्वाचनमा नयाँ दलका उम्मेदवार रास्वपाका स्वर्णिम वाग्लेलाई निर्वाचित गराए तर विकास त आएन नै वाग्ले पनि फर्किएर नआएको भन्दै यहाँका मतदाता निराश छन् ।

१ लाख २६ हजार ८८२ मतदाता रहेको तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा २०८० को उपनिर्वाचनमा रास्वपाका स्वणिम वाग्ले १४ हजार ७ सय ९७ मतान्तरले कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै विजयी हुनुभएको थियो । अहिले पनि रास्वपाका वाग्ले र कांग्रेसका भट्टराई चुनावी मैदानमा हुनुहुन्छ । 

एमालेको तर्फबाट भगवती न्यौपाने र नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट विद्यानाथ ढकालले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्तासँगै उम्मेदवार मतदाताको घर दैलोमा जान थालिसकेका छन् । जब निर्वाचन आउँछ अनि आश्वासनको पोको बोकेर उम्मेदवारहरू गाउँबस्तीमा आउँछन्, मत माग्छन् । 

मतदाताले मतदान गरेपछि उनीहरू कहिल्यै फर्किएर आउँदैनन् । यो क्रम पुराना दलदेखि नयाँसम्म पनि कायमै छ । पटक-पटक विकास हुने अपेक्षामा फरक-फरक प्रतिनिधिलाई मतदान गरेका तनहुँका मतदाता यो पटक आश्वासन हैन विकास गर्ने प्रतिनिधिको प्रतिक्षामा छन् ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।

Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।