काठमाडौंमा बाक्लो हुस्सु, जाडोले जनजीवन प्रभावित

माघ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा बाक्लो हुस्सु, जाडोले जनजीवन प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । 

पश्चिमी वायुको आंशिक प्रभावका कारण उपत्यकामा बादल लागेसँगै हुस्सु र चिसो बढेको हो । यसले गर्दा दृश्यता कम भएर सवारी साधन चलाउन कठिनाइ भएको छ भने बटुवाहरूले पनि जाडोको मार खेपिरहेका छन् । दिउँसो घाम लागे पनि हुस्सु पूरै नहट्ने सम्भावना छ, जसले चिसो अझ बढाउने अनुमान गरिएको छ । 

उपत्यकामा प्रदूषण र धुलोका कारण पनि हुस्सु लामो समयसम्म कायम रहने मौसमविद्हरू बताउँछन् । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरूमा ढिलाइ हुनसक्ने बताइएको छ । तराईका जिल्लाहरूमा त झन् बाक्लो हुस्सु र कुहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । 

तराईमा दृश्यता निकै कम भएकाले सडक दुर्घटनाको जोखिम बढेको छ भने स्कूलहरूमा बिदा दिने क्रम जारी छ । मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म देशभर जाडो बढ्ने क्रम जारी रहनेछ । तत्काल वर्षाको सम्भावना नभएकाले चिसो अझ बढ्नसक्ने अनुमान छ । 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । नागरिकहरूलाई जाडोबाट बच्न न्यानो कपडा लगाउन, आगो ताप्दा सावधानी अपनाउन र सवारी चलाउँदा विशेष ख्याल गर्न विभागले आग्रह गरेको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूलाई चिसोबाट बच्न सतर्कता अपनाउन सुझाव दिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.