
बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ ।
बैतडी, डडेलधुरा, दार्चुला, डोटी र बाजुराका लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो । बाजुराको बडीमालिका, बुढीगंगा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडे-दह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ ।
हिमपात भएपछि डाँडाहरु सेताम्ये भएका छन् । हिमपातले स्थानीयहरू प्रभावित बनेका छन् । हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । वर्षासँगै हिमपात भएपछि सुक्न लागेको गहुँ बालीलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले बताउनुभयो । हिमपात भएपछि त्यस क्षेत्रका किसानहरू खुसी भएका छन् ।
लामो समयदेखि खडेरीको मार खेप्दै आएको हुम्लामा यस वर्षको पहिलो पटक हिमपात भएको छ । पश्चिमी वायूको प्रभावका कारण शुक्रबार राति करिब ९ बजेदेखि जिल्लाका विभिन्न स्थानमा हिमपात सुरू भएको हो। धेरै समयसम्म वर्षा र हिमपात नहुँदा सुक्खापन बढ्दै गएको हुम्लामा परेको यो हिमपातलाई स्थानीय बासिन्दाले राहतको रूपमा लिएका छन् ।
लामो समयपछि हिउँ परेपछि खेतबारीमा लगाइएका गहुँ, जौलगायतका बालीनाली सप्रिने आशा गरिएको छ। हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अधिकांश राजमार्ग अवरूद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौं क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरूद्ध भएका हुन् ।
यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् ।