प्रतिनिधि सभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरूद्ध उजुरी

माघ ७, २०८२ |अञ्जना लामिछाने
प्रतिनिधि सभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरूद्ध उजुरी

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ मनोनयन दर्ता गरेका ३ हजार ४ सय ८७ उम्मेदवारमध्ये पाँच जनाविरूद्ध उजुरी परेको छ ।

बुधबार बिहान १० बजेदेखि ३ बजेसम्म दाबी विरोध पेस गर्ने अवधि रहेकामा पाँच जना उम्मेदवारविरूद्ध मात्रै उजुरी परेको हो । रौतहट १ बाट उम्मेदवारी दिनुभएका नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको थियो । पतञ्जलि जग्गा प्रकरणमा मुछिएको भन्दै उहाँविरूद्ध उजुरी परेको थियो । तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले भ्रष्टाचार मुद्दा अदालतमा विचाराधिन रहेको र दोषी ठहर भइनसकेको भन्दै दरपिठ गरिदिएको छ ।

त्यसैगरी कैलाली १ बाट मनोनयन दर्ता गर्नुभएका नागरिक उन्मुक्ति नेपालका रेशम चौधरीविरूद्ध पनि उजुरी परेको छ । उहाँलाई सर्वौच्च अदालतबाट जन्मकैदको फैसला भइसकेको आधारमा उम्मेदवारी रद्द गर्न माग गर्दै उजुरी परेको छ । त्यसैगरी भक्तपुर २ मा पनि दुई जना उम्मेदवारविरूद्ध उजुरी परेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार पेस्की लिएर फर्स्योट नगरेको भन्दै उजुरी परेको हो । त्यस्तै भक्तपुर २ कै नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरूद्ध नागरिकताको प्रतिलिपि लिँदा विवरण फरक पारिएको भन्दै उजुरी परेको हो । रास्वपाकै सुनसरी २ बाट मनोनयन दर्ता गर्नुभएका लालविक्रम थापाविरूद्ध पनि उजुरी परेको छ । 

थापाविरुद्ध इटहरीको जनता माध्यमिक विद्यालयलाई ७४ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको र लेखा परिक्षण प्रतिवेदनले पनि वक्यौता रहेको ठहर गरेको भन्दै खारेजीको माग गर्दै उजुरी परेको हो । रौतहट १ बाट नेकपाका उम्मेदवार माधव नेपालको निर्णय भइसकेको छ भने बाँकी ४ जनाको बिहीबार ५ बजेसम्म जाँचबुझ गरी निर्णय हुनेछ भने ७ बजेसम्म उम्मेदवारको नाम प्रकाशित हुनेछ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।