फागुन २१ को निर्वाचन : गठबन्धनविना दलहरूको वास्तविक शक्ति परीक्षण

माघ ६, २०८२ |दशरथ राई
फागुन २१ को निर्वाचन : गठबन्धनविना दलहरूको वास्तविक शक्ति परीक्षण

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रमुख राजनीतिक दलहरूको वास्तविक शक्ति परीक्षण हुने देखिएको छ । 

आफूलाई मुख्य राजनीतिक शक्ति दाबी गर्दै आएको नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी यसपटक गठबन्धनविना एकल प्रतिस्पर्धामा उत्रिएका छन् । पुराना तीन दललाई रास्वपालगायतका दलले कडा चुनौती दिने देखिएको छ । एक्लाएक्लै प्रतिस्पर्धामा होमिएका दलहरूले कसरी गर्दैछन् त चुनावी तयारी त ?

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रले चुनावी मोर्चाबन्दी गरेका थिए । एमालेले चुनावी गठबन्धन नगरे पनि केही निर्वाचन क्षेत्रमा राप्रपा र जसपासँग सिट तालमेल गरेर अघोषित सहकार्य गरेका थिए । तर फागुन २१ को निर्वाचनमा यी दल एक्लाएक्लै मैदानमा उत्रिएका छन् । 

पुराना हुन् या नयाँ, कुनै पनि दलले चुनावी गठबन्धन र तालमेल नगर्ने भएपछि यसपटकको निर्वाचनमा दलहरूको जनमत परीक्षण हुने भएको छ । विगतमा गठबन्धन र सिट तालमेलको राजनीतिका कारण आफ्नो पार्टीको चुनाव चिन्हमा मत दिन नपाउँदा दलका कार्यकर्ता असन्तुष्ट थिए । साथै दलहरूको असली शक्ति परीक्षणसमेत हुन पाएको थिएन । 

यस्तो अवस्थामा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपाको वास्तविक शक्तिको मापन यो निर्वाचनमा हुनेछ । जेन-जी आन्दोलनपछि हुन लागेको निर्वाचनमा यसपटक जेन–जी प्रतिनिधिहरूले समेत भाग लिइरहेका छन् । जसका कारण यो निर्वाचन पुराना र नयाँ दलबीचको प्रतिस्पर्धा पनि हो । 

यसपटक रास्वपाले बालेन्द्र शाह र एमालेले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेरै मैदानमा होमिएका छन् । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको भए पनि घोषणा गरिसकेको छैन ।यसपटक राजनीतिक दलबीच चुनावी गठबन्धन र सिट तालमेल नभए पनि नेताहरू भने उम्मेदवार बन्नका लागि अन्तिम समयसम्मै दल फेरबदलमा लागे । 

जनमत पार्टीबाट मधेशका मुख्यमन्त्रीसमेत भइसक्नुभएका सतिसकुमार सिंह स्वाभिमान पार्टीबाट उम्मेदवार बन्नुभएको छ । त्यसैगरी जसपा छाडनुभएका प्रदीप यादव र इस्तियाक राईले एमालेबाट टिकट पाउनुभएको छ भने रेणु यादव जसपा नेपालमा प्रवेश गर्नुभएको छ । नेकपा छाड्नुभएका रहबर अन्सारी रास्वपा प्रवेश गर्नुभएको छ भने नेकपाबाट मुख्यमन्त्रीसमेत बन्नुभएका कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

यसपटकको निर्वाचन दलहरूको वास्तविक शक्ति मापन गर्ने अवसरसमेत बनेको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।