
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन भएको छ ।
प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमा हुने चुनावका लागि देशभर ३ हजार ४ सय भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । जेन-जी आन्दोलनपछि हुन लागेको निर्वाचनलाई राजनीतिक रूपमा परिवर्तन र रूपान्तरणको जनमतका रूपमा हेरिएको छ ।
देशैभरका निर्वाचन कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरू मनोनयनका लागि बिहान १० बजे नै पुगेका थिए । आयोगले उम्मेदवारहरूलाई मनोनयनमा आउन समय तोकेर दिएकाले अधिकांश स्थानमा शान्तिपूर्ण र सहज रुपमा उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्तासँगै मुलुक निर्वाचनमय बनेको छ ।
निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर उम्मेदवार दर्ता उत्साहजनक र शान्तिपूर्ण भएको बताएको छ । कतै आचारसंहिता उल्लङ्घनको उजुरी आए छानबिन गरी कारबाही गर्ने समेत आयोगले जनाएको छ । अब मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।
७ गते ३ बजेदेखि ८ गते बेलुका ५ बजेसम्म उम्मेदवारउपर परेको उजुरीमाथि जाँचबुझ गरी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । माघ ९ गते नाम फिर्ता लिन चाहने उम्मेदवारले १० बजेदेखि १ बजे सम्म फिर्ता लिन सक्नेछन् भने सोहि दिन अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।
प्रदेश र स्थानीय तहबाट राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदवारी परेकोमा आयोगले रिक्त क्षेत्रमा ६ महिनाभित्रै उपनिर्वाचनको मिति तोकिने जनाएको छ ।