राजनीतिक दलका शीर्ष नेताहरूले कहाँ-कहाँबाट उम्मेदवारी दिए ?

माघ ६, २०८२ |प्रकाश बम
राजनीतिक दलका शीर्ष नेताहरूले कहाँ-कहाँबाट उम्मेदवारी दिए ?

काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनमा राजनीतिक दलका शीर्ष नेतृत्वले उम्मेदवारी दर्ता गराएका छन् । 

नेताहरू मनोनयनका लागि आफैं निर्वाचन क्षेत्र पुग्दा कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेले वारेसमार्फत उम्मेदवारी दिनुभएको छ । राजनीतिक दलका शीर्ष नेताहरूले कहाँ-कहाँबाट उम्मेदवारी दिए ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । ओलीले विगतदेखि नै लड्दै आएको क्षेत्र झापा ५ मा कांग्रेसले मन्धरा चिमरिया र नेकपाले रन्जित तामांगलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत सर्लाही ४ मा उम्मेदवारी दर्ता गराउनु भएको छ । २०७० सालको निर्वाचन यता काठमाडौं ४ बाट उम्मेदवार बन्दै आउनु भएका थापा यस पटक सुरक्षित स्थान खोज्दै मधेश झरेर सर्लाही ४ मा उम्मेदवारी दर्ता गराउनु भएको हो । 

थापासँग यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंह, नेकपाका डा. रजनिश यादव, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव र नेकपा एमालेका रविशङ्कर कुशवाहासँग प्रतिस्पर्धा हुनेछ । यस क्षेत्रबाट २०७९ को निर्वाचनमा डा. अमरेशकुमार सिंह स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो ।

हरेक निर्वाचनमा निर्वाचन क्षेत्र बदलिरहने नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले यसपटक क्षेत्र मात्र होइन पार्टीको नाम नै बदलेर रूकुम पूर्वबाट उम्मेदवारी दिनु भएको छ । २०६४ को संविधान सभा निर्वाचनमा पहिलोपटक काठमाडौं–१० र रोल्पा-२ बाट विजयी हुनुभएका दाहाल २०७० मा काठमाडौं-१० मा पराजित हुँदा सिरहा-३ बाट झिनो मतले विजयी हुनुभएको थियो । 

२०७४ को निर्वाचनमा उहाँ गृहजिल्ला चितवन-३ बाट निर्वाचित हुनुभएको थियो भने २०७९ को निर्वाचनमा गोरखा-२ मा पुग्नु भएको थियो । अहिले रूकुमपूर्वमा उहाँको प्रतिस्पर्धा कांग्रेस नेता कुसुमदेवी थापा एमालेका लीलामणि गौतम र प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दिप पुनसँग हुनेछ । यसपटक उहाँ सुरक्षित क्षेत्र खोज्दै २०६४ सालदेखि लगातार माओवादीले जितेको क्षेत्र पुग्नु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन २ मा उम्मेदवारी दर्ता गर्नुभएको छ । सहकारीसम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुग्नु भएका लामिछाने वारेसमार्फत उम्मेदवारी दर्ता गराउनु भएको हो । लामिछानेले तेस्रोपटक यो क्षेत्रबाट उम्मेदवार बन्न लाग्नु भएको हो । यहाँ नेपाली कांग्रेसबाट मीना कुमारी खरेलको उम्मेदवारी परेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । लिङ्देन २०७४ र २०७९ को निर्वाचनमा कांग्रेसका कृष्ण सिटौलालाई पराजित गर्दे यसै क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । यहाँ कांग्रेसले राजेन्द्र घिमिरेलाइ उम्मेदवार बनाएको छ । नागरिक उन्मुक्ति पार्टी नाउपा नेपालका संरक्षक रेशम चौधरीले कैलाली १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । यसअघिका निर्वाचनमा उहाँ सप्तरी २ बाट उम्मेदवार बन्दै आउनु भएको थियो । २०७९ को चुनावमा यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएपछि उहाँ सप्तरी ३ मा पुग्नु भएको हो ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत क्षेत्र सप्तरी २ बाटै उम्मेदवार बन्नु भएको छ । उहाँसँग कांग्रेसका रामकुमार यादव, जसपाका रमेशकुमार यादव र रास्वपाका रामजी यादव लगायतको उम्मेदवारी परेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । 

यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका सन्तोष चालिसेले जित्नु भएको थियो । यसपटक काठमाडौं ३ बाट कांग्रेसले रमेश अर्याल, एमालेले रामेश्वर फुँयाल र रास्पाले राजुराज पाण्डेलाई उठाएको छ । यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे छ । मेयर पदबाट राजीनामा दिएपछि साम्पाङले संसदीय राजनीतिमा औपचारिक प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनभएकाे छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।