१६५ निर्वाचन क्षेत्रका लागि २ हजार ६५५ जनाले गराए उम्मेदवारी दर्ता, महिलाकाे संख्या ३ सय ३

माघ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
१६५ निर्वाचन क्षेत्रका लागि २ हजार ६५५ जनाले गराए उम्मेदवारी दर्ता, महिलाकाे संख्या ३ सय ३

काठमाडौं । अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयभित्र उक्त संख्यामा उम्मेदवारी दर्ता भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार कतिपय जिल्लामा मनोनयन दर्ताको कार्य जारी नै रहेकोले यो संख्या बढ्नसक्ने बताउनु भयो । 

उहाँकाअनुसार मनोनयन दर्ता गराउने महिलाको संख्या एकदमै न्यून रहेको छ । उहाँले मनोनयन दर्ता गराउनेमा २ हजार ३ सय ५२ जना पुरूष र ३ सय ३ जना मात्र महिला रहेको समेत बताउनु भयो । उहाँले उम्मेदवारहरूको प्रारम्भिक नामावली मंगलबार साँझ ८ बजेभित्र प्रशासन हुने समेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय जिल्लामा अहिले पनि मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्य जारी रहेको छ । हामीले केहीबेर अघिसम्मको तथ्यांक लिएर उपस्थित भएका छौँ । निर्वाचन असधकृतको कार्यालयबाट प्राप्त तथ्यांकअनुसार अहिलेसम्म जम्मा २ हजार ६ सय ५५ जनाले मनोनयन दर्ता गराउनुभएको छ । जसमध्ये पुरूषहरू २ हजार ३ सय ५२ जना रहनुभएको छ भने महिलाहरूको संख्या ३ सय ३ जना रहेको छ । यो संख्या केही बढ्नसक्ने छ । आज मनोनयन दर्ता गर्ने उम्मेदवारहरूको सन्दर्भमा मनोनयन दर्ता गर्दा निरन्तर चलिरह्यो भने ८ पनि बज्न सक्ला । ८ बजेभित्रमा उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।’

उहाँले बुधबार कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने कार्यसूची रहेको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.