
बारा । रास्वपाका सभापति रवि लामिछाने सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनुभएको छ ।
उहाँ प्रभु बैंकको बैक ग्यारेन्टी बुझाएर रिहा हुनुभएको हो । लामिछाने मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित भएपछि बयान र थुनछेक बहस भएको थियो । न्यायाधीश रूद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार एक धरौटी माग गरेको थियो । अदालतले बयानपछि थुनछेक आदेश गरेर धरौटी माग गरेको र माग भएको रकम बुझाएर रिहा भएको तहसिलदार देवराज भट्टराईले जानकारी दिनुभयो।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो । सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रूपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रूपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।